लुम्बिनी

निःशुल्क एम्बुलेन्स सेवा पाएपछि गर्भवती महिला खुशी

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थालेका छन् ।

नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरुको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र पु¥याउने गरेको छ । खर्च नहुँदा यहाँका विपन्न महिला घरमै परम्परागत तरिकाले बच्चा जन्माउन बाध्य थिए । अस्पतालमा प्रसूति गराउन एम्बुलेन्स र लाग्ने महङ्गो शुल्क जोहो गर्नै उनीहरुलाई समस्या हुने गरेको थियो । “नगरपालिकाले सञ्चालन गरेको प्रसूतिगृहमा निःशुल्क सेवा लिन पाइने तथा घरबाटै प्रसूतिगृहसम्म एम्बुलेन्सले निःशुल्क ल्याउने लैजाने सुविधा दिएपछि विपन्न समुदायका महिलालाई सहज भएको छ, अस्पतालमा प्रसूति गराउने सङ्ख्या पनि बढेको छ”, स्थानीय प्रतिभा कार्कीले भनिन् ।

नगरका १३ वटै वडाका सेवाग्राहीलाई सेवा पु¥याउने गरी निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको हो । यसबाट विपन्न समुदायका महिलालाई खर्च जुटाउनुपर्ने चिन्ता हटेको भन्दै उनले यहाँबाट सिफारिश हुनेलाई पनि प्रसूतिगृहकै एम्बुलेन्सले बुटवलसम्म पु¥याउने गरेको बताईन् । नगरपालिकाले नै सुविधासम्पन्न प्रसूतिगृह सञ्चालन गरेपछि यहाँका विपन्न समुदायका महिलालाई सुरक्षित प्रसूति सेवा लिन पनि सहज भएको छ । नजिकमा सुरक्षित प्रसूति गराउन पाउँदा यहाँका महिला खुशी छन् ।

नेपालकै पहिलो बालमैत्री नगरसमेत रहेको नगरपालिकाले आफ्नै पहलमा सुनवल–१ को वडा कार्यालय रहेको भवनमा गत असोजदेखि प्रसूतिगृह स्थापना गरी सञ्चालनमा ल्याएको हो । यसअघि प्रसूतिगृहको अभावमा त्यहाँका महिला सदरमुकाम परासी तथा बुटवलसम्म जानुपर्ने बाध्यता थियो । सम्पन्न परिवारका महिला सजिलै सुविधासम्पन्न अस्पतालमा जाने गरे पनि विपन्न समुदायका महिला आर्थिक अभावका कारण परम्परागत रूपमै घरमै सुत्केरी हुने गरेका थिए ।

प्रसूतिगृहमा अहिलेसम्म ४९ महिलाले सामान्य अवस्थामै बच्चा जन्माएका छन् । १०७ गर्भवती महिला त्यहाँ पुगेकामा ५८ शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतीलाई भने बुटवल, देवदह र सदरमुकाम परासीका विभिन्न अस्पतालमा सिफारिस गरिएको प्रसूतिगृहकी स्टाफ नर्स सविना श्रीष थापाले जानकारी दिईन् । प्रसूतिगृहमा हालसम्म ५०० महिलाले नियमित गर्भ परीक्षण गराएका छन् । यहाँ दैनिक १५÷२० सेवाग्राही परीक्षणका लागि आउने गरेका छन् भने मासिक सरदर १२ ले प्रसूति सेवा लिने गरेका छन् ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि नेपालका अनुसार नगरपालिकाले रु २० लाख ५० हजारको लगानीमा १० कर्मचारीसहित प्रसूतिगृह र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । तालीम प्राप्त पाँच स्टाफ नर्सबाट सामान्य प्रसूति सेवा प्रदान गरिनुका साथै नियमित सुत्केरी जाँच, आइरन चक्की वितरण लगायतका सेवा पनि प्रदान गर्दै आएको उनी बताउँछिन् ।

प्रसूूतिगृहमा २४सै घण्टा सेवा दिने गरी व्यवस्था मिलाइएको छ । उनी भन्छिन्, “प्रसूतिगृहमै आएर बच्चा जन्माउने महिलालाई नेपाल सरकारले दिने सुविधाबाहेक नगरपालिकाको तर्फबाट पनि सुत्केरी पोषणभत्ता दिने गरेका छौँ, बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई थप रु दुई हजार भत्ता दिने गरिएको छ, अस्पतालमै प्रसूतिसेवा लिने महिलालाई नेपाल सरकारको तर्फबाट रु एक हजार ८०० प्रोत्साहन भत्ता र न्यानो झोला पनि दिने गरिएको छ ।”

प्रसुतिगृह सञ्चालन भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या पनि घट्दो छ । गत वर्षको तथ्याङ्कअनुसार नगरपालिकाभित्र एक हजार ३६५ गर्भवती महिला रहेकामा १३ ले मात्रै घरमा बच्चा जन्माएका थिए । शतप्रतिशत अस्पतालबाटै प्रसूति गराउने लक्ष्यसहित अहिले प्रसूतिगृहले नियमित परिक्षण गर्न आउने गर्भवती महिलालाई प्रसूतिगृहमा आएर बच्चा जन्माउन प्रोत्साहन गर्दै परामर्श दिने गरेको छ भने गाउँगाउँमा सचेतना कार्यक्रम र सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरी अस्पतालमै आउन प्रोत्साहन गरिरहेको नेपाल बताउँछिन् ।

प्रसूतिगृहले अहिले सामान्य सेवा दिँदै आएकामा अब शल्यक्रियासहितको सेवा पनि दिनुपर्ने आवश्यकता देखिएको छ । नगरपालिकाले नै व्यवस्थापन गर्दै आएको प्रसूतिगृहलाई १५ श्ययाको अस्पताल बनाउने गरी पहल थालिएको नगर उपप्रमुख दधीराम अर्याल बताउँछन् । त्यसका लागि प्रक्रिया थालिसकिएको उनले बताए ।

पन्ध्र श्ययाको अस्पताल भएपछि एक विशेषज्ञसहित पाँच स्वास्थ्यकर्मीको दरबन्दी हुने भएकाले उक्त प्रसूतिगृहमा शल्यक्रियामार्फत पनि प्रसूति सेवा दिने गरी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सक नै राख्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । घरमै परम्परागरुपमा प्रसूति हुँदा आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिला चिन्तित बन्दै आएकामा प्रसूतिगृहबाट सहज सेवा पाउन थालेपछि महिला खुशी भएका छन् ।