लुम्बिनी

मिर्गौलापीडित कार्कीलाई प्रवासी नेपालीको सहयोग

बेझाड । दुवै मिर्गौलामा समस्या देखिएपछि पीडित बनेका पाल्पा, निस्दी गाउँपालिका–१ डमराका रामबहादुर कार्कीको उपचारमा सहयोग जुटेको छ ।

बाकामलाङ घर भई हाल संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपाली युवाहरुबाट कार्कीको उपचारमा सहयोग जुटेको हो । राजकुमार पौडेल र बालु श्रेष्ठको नेतृत्वमा सङ्कलित रु एक लाख ३० हजार ७६५ कार्कीको उपचारका निम्ति सहयोग प्राप्त भएको छ ।

दुवै मिर्गौलामा समस्या देखिएपछि ५२ वर्षीय कार्की चार महीनादेखि भरतपुर मेडिकल कलेज चितवनमा उपचाररत् छन् । कार्कीको अवस्थालाई मध्यनजर राख्दै वैदेशिक रोजगारमा कार्यरत नेपाली युवाले आर्थिक सहयोग सङ्कलन गरेर पठाएका हुन् । सो रकम निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँण र बालु श्रेष्ठकी श्रीमती विष्णु श्रेष्ठले भरतपुर मेडिकल कलेजमै पुगेर कार्कीलाई हस्तान्तरण गरिन् । कार्कीको उपचारमा सहयोगस्वरुप बाकामलाङ भजन समूहको तर्फबाट भेषबहादुर अधिकारीले रु पाँच हजार प्रदान गरेका छन् ।

कार्की विसं २०५४ को स्थानीय निर्वाचनमा साविक बाकामलाङ ७ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी बुद्धि विकास प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षलगायत विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् । परिवारको प्रशस्त आयस्रोत नहुनु, उपचारमा लाखौँ रकम खर्च भइसक्दा पनि निको नहुँदा थप उपचारका लागि एक महीनाअघिदेखि कार्कीको उपचारमा समस्या परिरहेको छ ।