सुदूरपश्चिम

दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरियो

लम्की । कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको उपचार गरिएको हो । टीकापुर–२ का अध्यक्ष प्रकाशबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले शिविर आयोजना गरेकामा धन्यवाद दिए । उनले विपन्न र मुक्त कमैयालाई दाँतको उपचारमा सहज भएको बताए ।

“सहकारीले यस्ताखाले सामाजिक काम गर्न आवश्यक छ । सहकारी, विभिन्न सङ्घसंस्थाले यसरी जनतालाई लाभ हुने खालका कार्यक्रम गरेमा सामाजिक दायित्व पूरा हुन्छ”, वडाध्यक्ष बुढाथोकीले भने, “यसरी सामाजिक हितका लागि काम गर्ने सहकारीलाई स्थानीय सरकारले पनि सहयोग गर्छ ।” सामाजिक क्षेत्रमा यसरी अग्रसर भएर काम गर्ने संस्थालाई वडा कार्यालयले समेत आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

डेन्टल सर्जन डा पवित्रा विष्ट बोगटीले मानिसले दाँतको समस्यालाई समस्याका रुपमा नलिने चलन अझै रहेको बताईन् । “शिविरमा लामो समयसम्म दाँतको रोग पालेर बसेका मानिस पनि आए”, डा बोगटीले भनिन्, “दाँत दुखेमा उपचार पो गर्नुपर्छ तर दुखाइ कम गर्ने औषधि खाएर घरमै बस्ने चलन रहेछ । दाँत र गिजामा समस्या आए सामान्य रूपमा लिन हुँदैन, उपचार गरिहाल्नुपर्छ ।”

उनले दाँतको सरसफाइमा ध्यान दिन सन्देश दिने उद्देश्यले दन्त मञ्जन तथा ब्रस वितरण गरिएको बताईन् । सहकारीका व्यवस्थापक छविलाल जैशीले सहकारीले कमाइको केही अंश बिरामीको उपचारमा खर्च गर्नुपर्छ भन्ने निर्णय गरेपछि दन्त शिविर आयोजना गरेको बताए ।