अन्तर्राष्ट्रिय

लोकसभा निर्वाचन मणिपुरमा सबैभन्दा धेरै प्रतिशत सहभागी

नयाँ दिल्ली । भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ ।

मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ । स्थानीय समय अनुसार बेलुका पाँच बजेसम्मको विवरण अनुसार मणिपुरमा ७८.२० प्रतिशत मतदाता सहभागी भएका छन् । त्यसपछि धेरै आसाममा सहभागी भएका छन् । आसाममा ६८ प्रतिशत मतदाताले मतदान गरेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी लक्ष्यदीपमा ६५.९ प्रतिशत, मेघालयमा ६२ प्रतिशत, तेलङगनामा ६०.५७ प्रतिशत, उत्तर प्रदेशमा ५९.७७ प्रतिशत, बिहारमा ५०.२६ प्रतिशत र महाराष्ट्रमा ५५.७८ प्रतिशतले मतदाता निर्वाचनमा सहभागी भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा बिहीबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा गरी २० भन्दा बढी राज्यका ९१ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।

भारतमा देशभरी सात चरणमा लोकसभाको निर्वाचन हुन लागेको छ । मतदान आगामी मे १९ मा सकिने कार्यतालिका रहेको छ । यस निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका जनमत संग्रहको रूपमा पनि हेरिएको छ । प्रधानमन्त्री मोदी अहिले पनि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट उम्मेदवार छन् । उनलाई यस पटक नेहरु–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने अनुमान गरिएको छ । कङ्ग्रेसले पार्टी अध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारको रुपमा अगाडी सारेको छ ।

उनीहरु बाहेक भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन् । भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ । करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ । निर्वाचन परिणाम मे २३ तारिखका दिन सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन् ।

खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ । विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ । चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ । मतदानको दिन भयावह र उल्लेख्य हिंसाका घटना नभएपनि यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीले स्थानीय विधायकसहित पाँच जनाको हत्या गरेका छन् ।