अन्तर्राष्ट्रिय

पदच्युत भएका बशिर सम्वन्धी मुख्य मुख्य घटनाक्रम

पेरिस । कडा शासकका रुपमा चिनिएका बाशिर जसरी सत्तामा आए, बहिर्गमन पनि त्यसरी नै भएको छ ।  सुडानी सेनाद्वारा पदच्युत गरिएका बशिरको शासनकालमा भएका घटनाहरू यहाँको राजनीतिक परिवर्तनका महत्वपूर्ण पाटाका रूपमा समेत हेर्ने गरिएको छ ।

उनले सन् १९८९ मा कू गरेर सत्ता हत्याएको थिए भने अहिले सुडानी सेनाले पनि उनलाई कु नै गरेर हटाइदिएको छ । पछिल्लो समयमा झण्डै चार महिनादेखि उनी विरुद्धमा भएको आन्दोलनको आडमा सेनाले उनलाई हटाएको हो । सेनाले अव दुई बर्षमा निर्वाचन गराएर लोकतान्त्रिक प्रक्रिया मार्फत् सत्ता हस्तान्तरण गर्ने जनाएको छ । सुडानमा तीस बर्ष शासन गरेका बाशिरको जन्म सन् १९४४ जनवरी १ का दिन ग्रामिण क्षेत्रमा भएको थियो । उनको जन्मस्थल होश बान्नागा सुडानको राजधानी खार्तुमदेखि एक सय किलोमिटर टाढा पर्दछ ।

सन् १९७३ मा सैन्य सेवामा प्रवेश गरेका बाशिरले एक बर्षपछि अरब र इजरायलको युद्वमा इजिप्टको तर्फबाट लडेका थिए । सन् १९८९, जुन ३० मा उनी सुडानी सेनाको ‘व्रिगेड कमाण्डर’ बने । त्यसको लगत्तै उहाँले निर्वाचनबाट गठित लोकतान्त्रिक सरकारलाई मुश्लिमहरुको सहयोगमा अपदस्त गरेर सत्ता हातमा लिए । सन् २००३ मा उनले डारफरमा ठूलो संख्यामा सैनिकहरु पठाए । त्यहाँ भएको द्वन्द्वका क्रममा झण्डै तीन लाख जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सन् २००९ मा अन्तर्राष्ट्रिय अपराध अदालतले उनलाई डारफर घटनामा मानवता विरोधी अभियुक्त र युद्व अपराधी भएको फैसला गर्दै पक्राउ गर्न आदेश दियो । अदालतको फैसला र आदेशलाई भने उनले अस्वीकार गर्दै आएका थिए । सन् २०१० मा बहुदलीय व्यवस्थामार्फत् उनी शक्तिमा आएदेखि पहिलो पटक निर्वाचित राष्ट्रपति बने । त्यस निर्वाचनलाई विपक्षीहरुले बहिस्कार गरेका थिए । त्यसपछि सन् २०१५ मा पनि उनी राष्ट्रपतिमा निर्वाचित भए ।

सन् २०१३ मा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि सरकारको विरुद्धमा ठूलो प्रदर्शन भयो । त्यस क्रममा दर्जनौ मारिएको अधिकारीहरुले बताएका थिए । सन् २०१८ को डिसेम्बरमा पाउरोटीको मुल्य तेब्बर वृद्धि गरेको भन्दै मुल्यबृद्धिका विरुद्धमा देशभरका विभिन्न शहरहरुमा आन्दोलन शुरु भयो । चार महिना सम्म चलेको आन्दोलनमा ४९ जना भन्दा बढीको मृत्यु भयो । सन् २०१९ अप्रिल ११ मा सुडानी सेनाले औपचारिक रुपमा बशिरलाई राष्ट्रपतिको जिम्मेबारीबाट हटाएर सत्ता आफूले लिएको घोषणा ग¥यो ।