अन्तर्राष्ट्रिय

इथियोपियाली शरणार्थीका लागि सहयोग जुटाउन राष्ट्रसंघीय आयोगको आग्रह

अदिस अबाबा । इथियोपियामा शरणार्थीका लागि आवश्यक सहयोगको १३ प्रतिशत रकम मात्र प्राप्त भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोग (यूएनएचसीआर) ले बिहीबार जनाएको छ । यूएनएचसीआरका अनुसार इथियोपियाको शरणार्थी व्यवस्थापनका लागि एक बर्षका लागि ३४ करोड ६५ लाख अमेरिकी डलरको आवश्यकता भएको तर उक्त रकमको मात्रै १३ प्रतिशत सहयोग जुटेको छ ।

“शरणार्थीको आधारभूत पोषण तत्व, शिक्षा, स्वास्थ्य, पिउने पानी, सरसफाई तथा वासस्थानका लागि ३४ करोड ६५ लाख अमेरिकी डलरको आवश्यक हुने गर्छ,” सिन्ह्वा न्यूज एजेन्सीले प्राप्त गरेको यूएनएचसीआरको विज्ञप्तिमा भनिएको छ । इथियोपियामा यूएनएचसीआरको सूचीमा सन् २०१८ को अगस्टसम्म दर्ता भएका शरणार्थीको सङ्ख्या नौ लाख १५ हजार ७३ रहेको र अधिकांश क्षेत्रीय राज्यका विभिन्न छ वटा शरणार्थी शिविरमा बस्दै आएका छन् ।

पछिल्लो समय अफ्रिकी मुलुक युगाण्डापछि धेरै शरणार्थीको भार इथियोपियामा रहेको छ । इरिट्रिया, सोमालिया, दक्षिण सुडान र सुडानमा भएका द्वन्द्व, हिंसा तथा खडेरीका कारण आधारभूत खाद्यान्नको अभावको समस्याबाट उन्मुक्तिका लागि ठूलो सङ्ख्यामा अफ्रिकी जनता शरण लिन इथियोपियामा पुग्ने गर्छन् । पछिल्लो समय यमन र सिरियाबाट पनि उक्त स्थानमा शरणार्थी पुग्ने गरेका यूएनएचसीआरको तथ्याङ्क छ ।