समाचार

पब्जी खेलमाथि प्रतिबन्ध, ईन्टरनेट सेवा प्रदायक कम्पनीले सहयोग गरे कडा कारबाही

काठमाडौँ । सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । इन्टरनेटको प्रयोग गरी खेलिने श्रव्यदृष्य खेल (भिडियो गेम)ले समाजमा नकारात्मक असर पारेको भन्दै उक्त खेलमा प्रतिबन्ध लगाइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकृत सन्दीप अधिकारीले खेल प्रतिबन्धका लागि सबै इन्टरनेटप्रदायक कम्पनीलाई आजै परिपत्र गरिसकेको जानकारी दिए । उक्त खेलमाथि विभिन्न क्षेत्रबाट प्रतिबन्धका लागि प्रहरीको महानगरीय अपराध महाशाखामा गुनासो आएपछि काठमाडौँ जिल्ला अदालतलाई अनुरोध गरिएकामा अदालतको अनुमतिअनुसार प्रतिबन्ध गरिएको महाशाखाले जनाएको छ ।

अदालतको आदेशानुसार महाशाखाबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको र प्राधिकरणले आजै इन्टरनेट सेवाप्रदायक कम्पनीलाई पत्राचार गरी उक्त अनलाइन खेल प्रतिबन्ध लगाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । प्रतिबन्धित खेल नखेल्न अनुरोध गर्दै महाशाखाले कुनै पनि इन्टरनेट सेवाप्रदायक कम्पनीले खेललाई सहयोग गरेको पाइएमा दूरसञ्चार ऐनबमोजिम कारवाही गर्ने जनाएको छ ।