कर्णाली प्रदेश

प्रदेश प्रमुख खनालसँग जापानी राजदूतको भेट

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आज शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच कर्णाली प्रदेशको भौतिक विकास, शिक्षा, मानव संशाधन विकास, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव देवीप्रसाद पौड्यालले जानकारी दिए ।

राजदूत साइगोले कर्णाली प्रदेशको विकासमा जापान सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलिया पनि सहभागी थिए ।

प्रदेश प्रमुखसँग भेट गर्नुअघि राजदूत साइगोले जापान सरकारको सहयोगमा वीरेन्द्रनगरमा निर्माणाधीन आधुनिक खाद्य गोदाम घरको निरीक्षण गर्नुका साथै खाद्य संस्थानले सहुलियतमा बिक्रीवितरण गर्दै आएको चामलको प्रभाव र आवश्यकताका विषयमा जानकारी र्लिएका थिए ।