समाचार

नापतौलका यन्त्र दर्ता नगरिए कार्वाही

डोटी । जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक समयमा नै दर्ता तथा जाँच नगराए कानूनी कार्वाही गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय निमित्त प्रमुख गुरुप्रसाद पोखरेलले जिल्लामा व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्र समयमा नै दर्ता तथा जाँच नगराएको पाइए कानुनी कारवाही हुने चेतावनी व्यापारी, व्यवसायी तथा सरोकार पक्षलाई दिए ।
व्यापारीले ढक, तराजु, मिटर, लिटरलगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ ।

व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको पोखरेलले जानकारी दिए। नापतौलमा प्रयोग हुने ढक तथा यन्त्र हरेक वर्ष जाँच गराउनुपर्ने र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्ने प्रावधान रहेको गुणस्तर तथा नाप तौल कार्यालय सिलगढीले जनाएको छ ।