पर्यटन/संस्कृति

नेपाल भ्रमण वर्ष सफल पार्न विमानस्थलबाटै सहयोग गरौँ’

काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सहयोग गर्नुपर्ने आवश्यकता छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको आज भएको वार्षिक साधारणसभामा सहभागीले नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाका सदस्य एवं प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण विडारीले विमानस्थलमा सञ्चालित सवारीसाधनले आन्तरिक तथा बाह्य पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताए । “विमानस्थलमा सञ्चालित यातायातसेवाले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ”, उनले भने। विमानस्थलमा सञ्चालित सवारीसाधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । सभापति विडारीले नियम र कानूनमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गरे । “निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन, निजी सवारीसाधनले यात्रु बोके राज्यले कारवाही गर्नुपर्छ”, उनले भने।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशभरीको यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताए । “यातायात क्षेत्रलाई चुस्त र दुरुस्त ढङ्गले सञ्चालन गर्न सरकारले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ”, उनले भने ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य जगत सिंखडाले यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुन नसक्ने बताए । बाह्य पर्यटकको पहिलो नजर विमानस्थलमा सञ्चालित यातायातसेवामा पर्ने भएकाले त्यहाँका सवारीसाधनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पर्यटकको नेपाल प्रवेशद्वारा विमानस्थल भएकाले उनीहरुलाई राम्रो व्यवहार, आचरण र सत्कार गर्नुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी सवारीसाधनले कानून विपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताए । “निजी कारमा कानून विपरीत यात्रु बोक्दा सरकार किन मौन बस्छ ”, उनले प्रश्न गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले विमानस्थलमा सञ्चालित सवारीसाधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने बताए ।

व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले आन्तरिक तथा बाह्य पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताए । हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यातायात सुविधा दिन २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारीसाधनमार्फत् सेवा प्रदान गर्दै आएको अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।