खेलकुद

आठौँ राष्ट्रिय बास्केट बल प्रतियोगिता शुरु

घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत राष्ट्रिय बास्केट बल प्रतियोगिता आजदेखि दाङमा शुरु भएको छ । घोराही उपमहानगरपालिका–१८ नवपुरको सालघारी बास्केट बलको खेलकूद मैदानमा प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उद्घाटन गरे ।

प्रतियोगितको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासले युवालाई हौसलासँगै देशको पहिचान बढाउने काम गरेको बताए । उनले खेलाडी र खेलसँग सम्बन्धित व्यक्तिहरुलाई खेलकूदको विकासका लागि थप मिहिनेत गर्न लागि आग्रह गरे ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले दाङलाई खेलकूदमय बनाएको बताए । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगी, जिल्ला बास्केट बल सङ्घका अध्यक्ष बिपिन केसी लगायतको सहभागिता रहेको थियो ।

आजदेखि शुरु भएको बास्केट बल प्रतियोगिता आगामी बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय टोली गरेर दश टोलीको सहभागिता छ । प्रतियोगितामा दश वटा टोलीका दुई सय महिला र पुरुष खेलाडी आएका खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरले जानकारी दिए ।