समाचार

सभापति देउवाद्वारा पूर्वसांसद भण्डारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुल्मी काङ्ग्रेसका पूर्वसभापति, पूर्वसांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि रूद्रमणि शर्मा भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्व भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुँन ।

बहत्तर वर्षीय पूर्वसांसद भण्डारीको आज बिहान जीप दुर्घटनामा परी निधन भएको हो । गुल्मीको दर्लिनबाट बुटवलतर्फ जाँदै गरेको लु१ज १९५७ नंको जीप मुसिकोट नपा–१ को च्यानडाँडामा बिहान दुर्घटना भएको थियो । उक्त जीपमा सवार अन्य दुई जनाको समेत निधन भएको र आठ जना घाइते भएका छन् । काङ्ग्रेसले जीप दुर्घटनामा परी निधन भएका अन्य आठ वर्षीय बालक ओश्कर विक र प्रहरी हबल्दार देवीप्रसाद पौडेलको निधनप्रति पनि गहिरो दुःख व्यक्त गरेको छ ।

सभापति देउवाले भण्डारीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । सभापति देउवाले स्व भण्डारीले काङ्ग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गररे ।

गुल्मीको धुर्कोट गाउँपालिका वस्तु निवासी स्व भण्डारी २०४८ सालको आम निर्वाचनमा पार्टीका तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । स्व। भण्डारीले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका दुई श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

आजै काङ्ग्रेस संसदीय दलको कार्यालयले पनि पूर्वसांसद शर्मा भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत स्व भण्डारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै उनले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
–––