समाचार

ज्येष्ठ नागरिक र एकल महिला सम्मानित

ललितपुर । गोदावरी, बडिखेलकी ९० वर्षीया टीकादेवी घिमिरे पहिलो पटक सार्वजनिक स्थानमा सम्मानित हुन पाउँदा खुशी देखिन्थीन् । उनले पहिले त अरुको सामुन्ने आफूलाई मात्र किन मञ्चमा आसन ग्रहण गराएको होला भनेर पत्तोसमेत पाइनन् । आफूलाई लगाइदिएको माला र दोसल्ला नियाल्दै उनी जीवनमा पहिलो पटक यस्तो क्षण मिलेको भन्दै मख्ख देखिइन । गोदावरी नगरपालिका ४ नं वडा कार्यालयले वडामा रहेका ७० वर्षमाथिका नागरिक र हरेक उमेर समूहका एकल महिलालाई सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त अवसरमा सहभागी घिमिरेजस्तै विभिन्न उमेर समूहका कूल ११४ ज्येष्ठ नागरिक र ७९ एकल महिलासमेत खुशी देखिन्थे ।
माला, दोसल्ला, मिठाइ र फलफूलबाट सम्मानित उहाँहरु वडा कार्यालयले पहिलो पटक गरेको कार्यक्रममा एकापसमा खुशी साटासाट गर्दै थिइन् ।

सतहत्तर वर्षीया सावित्री आचार्यले पहिलो पटक समाजमा अरुको सामुन्ने सम्मानित हुन पाएको भन्दै खुशी व्यक्त गरीन् । “बूढेसकालमा वडाले नसोचेको काम गर्यो”, उनले भनीन् “हामी डाँडामाथिको जूनले यस्तो अवसर पाउँछौँ भन्ने कहिले सोचेका थिएनौँ ।”
उनीहरुलाई छोरानाति र छोरीबुहारीले हँसीमजाक गर्दै कसैलाई सवारी साधन त कसैलाई डोहो¥याएर र कतिलाई साथी लागेर सम्मानस्थलसम्म ल्याइदिनु भएको थियो ।

प्रदेशसभा सदस्य लालकुमारी पुनले एकल महिलाको सहयोगमा वडा कार्यालयले सधैँ तत्पर रहनुपर्नेमा जोड दिए। “ज्येष्ठ नागरिक समाजका इतिहास हुन्”, पुनले भने “यी व्यक्ति ज्ञान, सीप र अनुभवका भण्डार हुनाका साथै घर, परिवार, समाज, राष्ट्रका पथप्रदर्शक र प्रतिष्ठा पनि हुन् । ”

गोदावरी–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले वर्षैपिच्छे बडिखेलका ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेर उनीहरुको जीवनमा ऊर्जा थप्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका अध्यक्ष प्रतिमा घिमिरेले ज्येष्ठ नागरिक र एकल महिला भार नभई समाजका शृङ्गार भएको बताए ।