अन्तर्राष्ट्रिय

प्रधानमन्त्री दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठनको तयारीमा


जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थालेका छन् । गत मङ्गलबार सम्पन्न संसद ‘नेसेट’ को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान जितेर पुनः ठूलो पार्टी बनेको थियो ।

प्रधानमन्त्री नेतान्याहु अब मुलुकको इतिहासमै पहिलो पटक पाँचौं कार्यकालका रुपमा प्रधानमन्त्री बन्न लागेका हुँन । भ्रष्टाचारको आरोपका कारण उदारबादी दलबाट कडा चुनौती दिइए पनि अन्ततः ६९ वर्षीय नेतान्याहुको लिकुड पार्टी संसदमा सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो ।

प्रधानमन्त्री नेतान्याहुका निकट सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुको विजयबाट आफू अत्यन्त प्रसन्न रहेको बताउँदै ह्वाइट हाउसले लामो समयदेखि प्रतिक्षा गरिरहेको मध्यपूर्वको “शान्ति योजना” मा रचनात्मक सहयोग प्राप्त हुने विश्वास गरेको बताए।

प्रधानमन्त्री नेतान्याहुलाई पूर्व सैनिक बेन्नी गान्जको ब्यू एन्ड ह्वाइट पार्टीले कडा चुनौती दिएको थियो । दुबै पार्टीले समान स्थानमा जित दर्ज गरेपनि नेतान्याहुलाई कट्टरपन्थी, राष्ट्रवादीहरुले समर्थन जनाएका छन् । नेतान्याहुको गठबन्धनले १२० सदस्यीय संसदमा ६५ स्थान जितेका छन् ।

गान्जले चुनावको नतिजालाई स्वीकार गर्नुभएको छ । तर अन्तिम नतिजा शुक्रबार मात्र सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति रुभेन रिभलिन समक्ष दुबै नेतामध्ये एकलाई प्रधानमन्त्रीमा नियुक्त गरी सरकार गठन गर्न निमन्त्रणा दिनुपर्ने अवस्था छ । तर पछिल्लो राजनीतिक गठबन्धन र जोडघटाउका आधारमा राष्ट्रपतिका अघिल्तिर नेतान्याहुलाई आमन्त्रण गर्नुको विकल्प छैन ।

गठबन्धनका नेताहरुबीच विभिन्न पक्षमा गम्भीर विचार विमर्श पनि हुनसक्ने देखिएकाले सरकारले पूर्णता पाउन केही दिन लाग्ने देखिएको छ ।

राष्ट्रपति रिभलिनले अर्को साताबाट सरकार गठनका बारेमा पार्टीका नेताहरुसँग छलफल गर्ने बताए। राष्ट्रपतिको कार्यालयले यस्तो विचारविमर्शलाई इजरायलको इतिहासमा पहिलोपटक प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।