सुदूरपश्चिम

विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका योजना नै नपर्ने खबर आइरहेकै बेला यहाँका दुईवटा सायल र आदर्श गाउँपालिकाले वार्षिक योजना तर्जुमा गर्दा विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता दिने भएका छन् ।

वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीद्वारा सायल र आदर्श गाउँपालिकामा आयोजना गरिएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी संवाद कार्यक्रममा जनप्रतिनिधिहरुले आगामी वर्षको वार्षिक योजना तर्जुमा गर्दा बस्ती तहबाट विपद् जोखिम न्यूनीकरणलाई सहयोग पुग्ने खालका योजना सङ्कलन गरिने प्रतिबद्धता जनाएका छन् ।

सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले सायल गाउँपालिका विपद्का दृष्टिकोणले जोखिमयुक्त रहेकाले बस्ती तहबाट आएका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सहयोग पुग्ने योजनालाई उच्च प्राथमिकतामा राखिने बताए । उनले भने, “हाम्रो गाउँपालिका विपद्को उच्च जोखिममा छ, विपद् व्यवस्थापनमा हामी चनाखो हुने छौँ ।” सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा सायल गाउँपालिकाले ६ वटै वडामा विपद् जोखिम न्यूनीकरण योजना निर्माण गरिसकेको र गाउँपालिकास्तरको योजना निर्माण गर्ने तयारी गरिरहेको समेत अध्यक्ष डुम्रेलले जानकारी दिए । सायल गाउँपालिकामा आपत्कालीन कोष, आपत्कालीन सूचना केन्द्र स्थापना, आपत्कालीन अवस्थामा प्रयोग हुने राहत, उद्धारका सामग्री, उपकरणको गाउँपालिकाले व्यवस्था गर्न लागेको सायल गाउँपालिकाले जनाएको छ ।

यसैगरी आदर्श गाउँपालिकाका उपाध्यक्ष कमलादेवी ओझाले आगामी गाउँसभामा विपद् व्यवस्थापनका योजना छनोट गर्न बस्ती तहमा जानकारी प्रवाह गरिने बताए । आदर्श गाउँपालिकाको मौवामा आयोजना गरिएको संवाद कार्यक्रममा उपाध्यक्ष ओझाले आपत्कालीन सूचना केन्द्र, आपत्कालीन कोष, विभिन्न विपद् व्यवस्थापन योजना निर्माण गरिसकेकाले विपद् जोखिम न्यूनीकरणसम्बन्धी समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको बताए ।

उक्त कार्यक्रममा सामुदायिक विकास केन्द्रका विपद् जोखिम न्यूनीकरण अधिकृत प्रयागराज कापडी र सहजकर्ता मोहन भट्टले सामुदायिक विकास केन्द्र डोटीले आदर्श र सायल गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरिरहेको कामका बारेमा जानकारी गराउनु भएको थियो ।