कर्णाली प्रदेश

विपन्नलाई शैक्षिक सामग्री हस्तान्तरण

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–८ मा बसोबास गर्दै आएका ३० विपन्न, असहाय टुहुरा र एचआइभी सङ्क्रमित बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग र वडामा गठित कोपिला बाल सञ्जालको समन्वय तथा पहलमा वडामा रहेका विपन्न र असहाय बालबालिकालाई रु ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको वडास्तरीय बाल सञ्जालका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।

वडा क्षेत्रभित्र बसोबास गर्दै आएका एचआइभी सङ्क्रमित, पिछडिएका र टुहुरा बालबालिकालाई झोला, विद्यालय पोशाक, कापी, कलमलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको वडासचिव तपेश शाहले बताए । उनले वडाभित्रका पीडित बालबालिकालाई सो शैक्षिक सामग्री वितरण गरिएको बताए । वडामा रहेका अतिगरीब र विपन्न परिवारका बालबालिकालाई छनोट गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनककुमार बोहराले नगरपालिका–२ ब्रह्मतोलामा रहेको ‘अनाथ बालबालिका लागि शैक्षिक वातावरणीय केन्द्र (कन्सर्न)’ बाजुराका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नुभएको केन्द्रका संस्थापक गणेश थापाले बताए । बोहराले आफ्नो जन्मदिनको अवसरमा उक्त केन्द्रमा रहेका १३ बालबालिकाका लागि कापी, कलम सहयोग गरेको बताए । उनले जन्मदिनको बेला भोजमा खर्च गर्नुभन्दा अनाथ, असहाय र टुहुरालाई सहयोग गर्नु उपयुक्त भएको बताए ।