सुदूरपश्चिम

दाँत नभएका कारण लाजले सामाजिक कार्य समेत छोड्नुपर्‍यो

बझाङ । खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उनले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भनिन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि उनले दाँत हाल्नसकिनन् ।

दाँत नभएका कारण लाजले उनले सामाजिक कार्यमा जानसमेत छाडेकी थिईन् । केही बोल्न खोज्दा स्पष्ट नहुने भएपछि उनले सामाजिक कार्य र साथीसङ्गीसँग समेत बोल्न छाडेकी थिईन् । अहिले रोकाया खुशी छिन् । समाजका मान्छेले थोते भन्दै गिज्याउनेको अगाडि राम्रोसँग बोल्न सक्ने भएपछि उनी खुशी भएकी हुन् ।

यस्तै समस्या सोही वडा नेटाकाँटीयाका रामप्रसाद जोशीले समेत खेप्नुपरेको थियो । मासु खाने चाहना हुँदाहुँदै पनि उनले दाँत झरेका कारण मासु खान सकिन्छ भन्ने लागेकै थिएन । जब गाँउपालिकाले स्थानीय बासिन्दाका लागि स्वास्थ्य शिविर सञ्चालन ग¥यो, उनीजस्ता दाँतको समस्या भएका ५३ ले दाँत हाल्न पाए । गाँउपालिकाले मदिरा पिएर होहल्ला गर्ने व्यक्तिबाट उठाएको रु चार लाख बराबरको रकमले स्वास्थ्य शिविर सञ्चालन गरेको गाँउपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताए । गाउँपालिका र रामप्रसाद स्मृति प्रतिष्ठानले दुर्गामहालिङ मावि चौकामा चलाएको तीनदिने शिविर बुधबार सम्पन्न भएको हो ।

गाउँपालिकाले मदिरा सेवन गरी होहल्ला गर्नेबाट जरिवानास्वरुप सङ्कलन गरेको रकम र छान्ना क्षेत्रका समाजसेवी विष्णुप्रसाद खत्रीको पहलमा शिविर सञ्चालन भएको हो । शिविरमा सामान्य स्वास्थ्य जाँच, हाडजोर्नीको शल्यक्रिया, दन्तरोगको उपचार र आँखाका बिरामीको उपचार भएको थियो । यसका साथै स्त्रीरोग, बालरोगको पनि उपचार भएको गाँउपालिका अध्यक्ष रोकायाले बताए । शिविरमा गाउँपालिकाभित्रका पौवागडी, लामातोला, माझीगाउँ, कालुखेती, पाटादेवल गडराय र छिमेकी गाउँपालिका थलारा र छिमेकी जिल्ला बाजुराका बिरामी पनि स्वास्थ्य सेवा लिन आएका थिए ।

गाउँपालिका अध्यक्ष रोकायले यस क्षेत्रका स्थानीयवासीले शिविरबाट निकै राहत पाएको बताए । उनका अनुसार शिविरमा सात रोगको उपचार गरिएको छ । सामान्य चिकित्सातर्फ ६९५, हाडजोर्नीतर्फ ८८१, दन्तरोगतर्फ २६१ ले उपचार सेवा लिएका छन् । यसका साथै आँखारोगतर्फ ३८१, स्त्रीरोगतर्फ ५७६, बालरोगतर्फ १९४ र शल्यक्रियातर्फ १० जनाले सेवा लिएको अध्यक्ष रोकायले बताए । सबै गरी दुई हजार ९९६ को स्वास्थ्य परीक्षण तथा उपचार गरिएको शिविरमा सहभागी डा किशोरबहादुर खत्रीले जानकारी दिए । यसका साथै शिविरमा ३९४ को अल्ट्रासाउण्ड, १०१ को ल्याव परीक्षण, ३१ को मोतिविन्दुको शल्यक्रिया, ५३ को नयाँ दाँत राखेको पनि उनले जानकारी दिए ।

शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रालि, आम्दा हस्पिटल प्रालि बुटवल र हिमाल डेन्टल हस्पिटल प्रालिका विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएको थियो । स्थानीय ऐन रोकायले भने, “हामीजस्ता रकम अभावमा उपचार सेवाबाट वञ्चित बिरामीका लागि धेरै राहत भएको छ ।” ठूला ठूला चिकित्सकसहित गाउँमै सबैखालको उपचार पाएपछि शिविरको स्थानीयवासीले प्रशंसा गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाले रु चार लाख र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रु पाँच लाख गरी रु नौ लाख खर्च भएको थियो ।