पर्यटन/संस्कृति

नौ बाजाका वाद्यगुरु रञ्जितकार सम्मानित

भक्तपुर । नेपाली कला, संस्कृति र बाजाहरुको संरक्षण गर्दै युवा पुस्तालाई वाद्यवादनतर्फ आकर्षित गर्न काठमाडौँ विश्वविद्यालयमा नौ बाजाको प्रशिक्षकका रूपमा कर्म गर्दै आएका ८४ वर्षीय वाद्यगुरु हरिगोविन्द रञ्जितकारलाई शिक्षक दिवसका अवसरमा भक्तपुरमा सम्मान गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भक्तपुरले ४०औँ शिक्षक दिवसका अवसरमा बुधबार आयोजना गरेको सम्मान तथा नयाँ वर्षको शुभकामना कार्यक्रममा वाद्यवादक तथा गुरु रञ्जितकारलाई सम्मान गरिएको हो । सो अवसरमा अर्का युवा वाद्यवादक मनिष शिल्पकारलाई पनि सम्मान गरियो । सङ्गठनले २०७५ सालमा सेवानिवृत्तसामुदायिक विद्यालयका २६ शिक्षक तथा प्रधानाध्यापकलाई समेत सम्मान गरेको सङ्गठनका सचिव गोविन्द ढुङ्गानाले जानकारी दिए ।

सङ्गठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले सरकारले यो वा त्यो बहानामा अस्थायीरूपमा कार्यरत शिक्षकलाई जिम्मेवारीबाट हटाउन परीक्षा सञ्चालन गरेर नाटक गरेको बताउँदै आन्दोलनरत अस्थायी शिक्षकको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरे । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएकाले सो जिम्मेवारी कुशलताका साथ पूरा गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरे ।

सङ्गठनका पूर्वअध्यक्ष माधवप्रसाद अधिकारीले सरकारले अस्थायी शिक्षकको आन्तरिक परीक्षामा असफल हुने शिक्षकलाई उपदानको व्यवस्था गरेर बिदाइ गर्नु सकारात्मक भए पनि उनीहरुले लामो अवधि शिक्षा क्षेत्रमा पु¥याएको योगदानको भने सरकारले सम्मान गर्न नसकेको बताए । स्थानीय सरकारले निर्माण गरिरहेको ऐनले शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन नसक्ने उनको भनाइ थियो ।