सुदूरपश्चिम

रकम लिएर फरार भएका कर्मचारीको खोजी

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दीपायलस्थित राजपुरमा कार्यालय खोली यहाँका स्थानीयवासीको लाखौँ रकम लिएर फरार भएका कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका कर्मचारीको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीमा उक्त संस्थाले बचत समूह खोली स्थानीयवासीबाट रु १९ लाख ९४ हजार २०० रकम लिएर फरार भएको उजुरीका आधारमा संस्थाका कर्मचारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उनले भने, “संस्थाका कर्मचारीले समूह गठन गरी रकम लिएर फरार भएको उजुरी परेपछि छानबिनका लागि हामीले खोजी कार्य अगाडि बढाएका हौँ ।”

विसं २०७५ जेठमा राजपुरमा क्षेत्रीय कार्यालय खोली यहाँका स्थानीयवासीलाई कृषि क्षेत्रमा सहयोग पु¥याउन विभिन्न बोटबिरुवा दिने भन्दै उक्त संस्थाले अछामबाट रु दुई लाख ३० हजार ६००, बैतडीबाट रु तीन लाख ६ हजार ८००, बझाङबाट रु चार लाख ३५ हजार ५००, बाजुराबाट रु तीन लाख १४ हजार ४०० तथा डोटीबाट रु सात लाख ६ हजार ९०० गरी कूल रु १९ लाख ९४ हजार २०० लगेर फरार भएको आरोप लागेको छ ।

उक्त संस्थाले यहाँका पहाडी जिल्लामा बोटबिरुवा, रकम ब्याज तथा ऋण सहयोग दिने भन्दै बचत समूह बनाई प्रत्येक समूहमा आबद्ध सदस्यबाट मासिक रु दुई हजारका दरले रकम उठाएको स्थानीयवासी बताउँछन् । फरार भएका उक्त संस्थाका कर्मचारीले स्थानीयवासी दीर्घराज राणाको घर भाडासमेत नतिरेको बताइएको छ ।

उक्त संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको र संस्थाका अध्यक्ष भ्रष्टाचारको आरोपमा जेल परेको तथा अन्य कर्मचारी हालसम्म फरार रहेको बताइएको छ ।