अन्तर्राष्ट्रिय

सामजिक त्रुटीका बारेमा आलोचना पछि ओलम्पिक मन्त्रीद्वारा राजीनामा

टोकियो । आगामी वर्ष सन् २०२० मा घरेलु मैदानमा हुने ओलम्पिक प्रतियोगिताको तयारी तीव्र भइरहेका बेला जापानका ओलम्पिक मामिलामन्त्रीले राजीनामा दिएका छन् ।

विगत केही हप्तादेखि लगातार विभिन्न सामाजिक त्रुटीहरू भएपछि मन्त्री योशिताका साकुरादाले बुधबार राजीनामा दिएका हुन् । जापानले आयोजना गर्ने ओलम्पिक प्रतियोगिताको उद्घाटन हुने दिन आउन झण्डै ५०० दिन बाँकी रहँदा आएको मन्त्रीको राजीनामाले प्रतियोगितालाई कुनै असर भने नपर्ने दाबी गरिएको छ ।

उनका कतिपय सामजिक त्रुटीका बारेमा सर्वत्र आलोचना भएपछि उनले राजीनामा दिन बाध्य हुनु परेको हो । केही हप्ता अगाडि उनी बजेट समितिको बैठकमा निर्धारित समयभन्दा ३ मिनेट ढिलो पुग्दा विपक्षीहरूले झण्डै पाँच घण्टा बैठक अवरुद्ध गरेका थिए । उनीहरूले मन्त्रीको ढिलाइले कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बैठक वहिष्कार गरेपछि उनको धेरै आलोचना भएको थियो ।

त्यसैगरी केही साता अगाडि साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आशा गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको बताएका थिए । त्यसपछि पनि उनको सर्वत्र आलोचना भएपछि उनले माफी नै माग्नु परेको थियो । सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट वुमन भनिने महिलाहरूलाई ‘व्यवसायिक वेश्या’को संज्ञा दिएपछि आलोचित हुनु परेको थियो ।

उनलाई मन्त्रीको जिम्मेबारीबाट हटाउन आवश्यक छ की छैन भन्ने बारेमा गरिएको एक मत सर्वेक्षणले ६५ प्रतिशतले उनलाई हटाउनुपर्ने मत जाहेर गरेका थिए । जापानका प्रधानमन्त्री सिन्जे आवेले राजीनामाका लागि आफूले आग्रह गरेपछि उनले गल्ती स्वीकार गर्दै राजीनामा दिएको जानकारी दिए ।

उनलाई हटाउनु पर्ने पक्षमा पार्टी भित्रैबाट चर्को दबाब परेको थियो । उनलाई नियुक्त गर्ने मात्रको रूपमा आफूबाट पनि कमजोरी भएको भन्दै प्रधानमन्त्री आवेले क्षमा याचना गरेका छन् ।