अन्तर्राष्ट्रिय

आगलागीका कारण एक वर्षमा ७ हजारको मृत्यु

मस्को । आगोसम्बन्धी विभिन्न घटनामा परी रुसमा एक वर्षमा सात हजारभन्दा बढीको मृत्यु भएको छ ।

रुसको एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा आगलागी सम्बन्धी घटनामा परी सात हजार २९६ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये ४५८ जना बालबालिका रहेको अधिकारीहरूले जनाएका छन् । वर्षभरी भएका आगलागीसम्बन्धी कूल घटनामध्ये ६३ प्रतिशत घटना आगो जथाभावी फाल्ने प्रवृत्तिका कारण भएको पाइएको छ ।

रुसमा धेरै घटना आगो ननिभाइएका चुरोटका ठूटा, सलाई, लाइटरलगायतलाई सही तरिकाले व्यवस्थापन तथा प्रयोग नगरिएकाले भएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कतिपय घटना विद्युत् लाइनमा भएको गडबढीले हुने गरेको पाइएको छ । यस्ता घटना धेरैजसो जाडो समयमा हुने गरेको तथ्याङ्क छ ।