अन्तर्राष्ट्रिय

अफ्रिकाका पाँच पूर्वराष्ट्रपतिले केन्नेथलाई भेट्ने

लुसाका । अफ्रिकी विभिन्न देशका पाँच जना पूर्वराष्ट्रपतिले जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ कौन्डालाई भेट्ने भएका छन् ।

केन्नेथको ९५औँ जन्मोत्सवका अवसरमा ती राष्ट्रपतिहरूले उनलाई यही अप्रिलको अन्त्यतिर भेट्ने कार्यक्रम तय भएको एक नेताले बुधबार जानकारी दिएका छन् । मोजाम्बिकका पूर्व राष्ट्रपति जोअचीम चिसानोले केन्नेथलाई आफुहरूले जन्मदिनको अवसरमा आउँदो अप्रिल २८ तारिखका दिन भेट्ने तयारी गरेको जानकारी दिए ।

अफ्रिकी नेताहरूको अनौपचारिक सञ्जालको रूपमा रहेको अफ्रिकन फोरमको संयोजनमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको उनले बताए । सो फोरमको अध्यक्ष अहिले चिसानो नै छन् । उनले नै अन्य देशका पूर्वराष्ट्रपतिहरूलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।

उनले मलावीका पूर्वराष्ट्रपति बाकिलि मुलुजी, तान्जानियाका पूर्वराष्ट्रपति अली हसन विनी, बोटसवानाका पूर्वराष्ट्रपति फेस्टुस मोगाय र नामिबियाका पूर्वराष्ट्रपति हिफिकेपुन्य पोहाम्बा गरी आफू बाहेक चार जनालाई निमन्त्रणा गरिएको जानकारी दिए । उनीहरूको यो भेटलाई ऐतिहासिक, साङ्केतिक र दक्षिणी अफ्रिकामा स्वतन्त्रताका लागि केन्नेथले दिएको योगदानको सम्मानको रूपमा लिनुपर्ने चिसानोको भनाइ छ ।

आफ्नो देशका प्रथम राष्ट्रपतिलाई शुभकामना दिन विभिन्न देशका पूर्वराष्ट्रपतिहरू आउने कार्यक्रमलाई जाम्बियाले भव्य बनाउने जनाएको छ ।जाम्बियाका प्रथम राष्ट्रपति कौन्डा सन् १९२४ मा जन्मिनु भएको हो । उनले जाम्बियाको स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गरेका थिए भने सन् १९६४ देखि १९९१ सम्म राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हालेका थिए ।