अन्तर्राष्ट्रिय

मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न रोक

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ ।

सत्ता र शक्तिको दुरुपयोग गर्दै निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शन गर्न लागिएको भन्दै उजुरी परेपछि तत्कालका लागि प्रदर्शनमा रोक लगाइएको हो । निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफै निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको देशव्यापी निर्वाचन नसकिँदा सम्म सो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जनाएको छ ।

भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरेर लोकसभा निर्वाचन हुन लागेको छ । निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुन लागेको छ । प्रमुख प्रतिस्पर्धी काँग्रेसले निर्वाचन आयोगसमक्ष दरखास्त बुझाउँदै ‘पीएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो । निर्वाचनको स्वार्थ देखिएको भन्दै काँग्रेसले उठाएको विषयमा आम समर्थन देखिएको थियो भने आयोगले पनि त्यसलाई महसुस गरी प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

भारतमा निर्वाचन आयोगको अनुमति बिना चुनावको केही हप्ताअघि राजनीतिक प्रचार गर्ने किसिमका सामग्रीको विज्ञापन गर्न निषेध गरिएको छ । प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबरायले खेलेका छन् । चलचित्रमा मोदीले बाल्यकालमा रेलहरुमा चिया बेचेकोदेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रुपमा सकारात्मक सन्देश दिने विषयवस्तु राखिएको छ ।

त्यसैगरी उनी गुजरातको मुख्यमन्त्री भएको बेला अनुकरणीय काम गरेको, ठूलाठूला समस्याहरु समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएको निर्माताहरुले जनाएका छन् । समग्रमा मोदीको सफलता देखाउने र उहाँप्रतिको आकर्षण बढाउने मनसाय चलचित्रमा समेटिएको छ । यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त चलचित्र एक हप्ता अघि नै अर्थात् अप्रिल ५ मा नै प्रदर्शन गर्ने भनिए पनि फेरी रोकिएको थियो । तर अहिले प्रदर्शनको तरखर भइरहेका बेला फेरी निर्वाचन आयोगले रोकिदिएको हो ।