पर्यटन/संस्कृति

२०२० लाई उत्साहका साथ प्रभावकारी रुपमा मनाइने

काठमाडौँ । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई उत्साहका साथ प्रभावकारी रुपमा मनाउने भएको छ । प्रधानमन्त्री तथा नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकले भ्रमण वर्ष मनाउन आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गर्दै प्रचार प्रसारका लागि सबै संयन्त्रलाई प्रभावकारी बनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रमण वर्षलाई उत्साहका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने सन्दर्भमा प्रदेश सरकार तथा स्थानीय तहहरुमा समेत प्रचार प्रसार लगायतका कार्यक्रम समन्वयात्मक रुपमा गर्ने गराउने निर्णय गरेको छ ।

समितिका सदस्य सचिव समेत भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार स्वीकृत बजेट तथा कार्यक्रममा आवश्यकताअनुसार स्वीकृत शीर्षकमा १० प्रतिशतसम्म रकमान्तर गर्न राष्ट्रिय कार्यक्रम संयोजकलाई र थप १५ प्रतिशतसम्म रकमान्तर गर्न कार्यक्रम कार्यान्वयन उपसमितिलाई अख्तियारी दिने निर्णयसमेत उक्त बैठकले गरेको छ ।

बैठकले सम्पूर्ण सार्वजनिक निकायहरुको कार्यसम्पादनका क्रममा प्रयोग गर्ने पत्राचारमा तथा सबै निकायका वेबसाइटहरुमा २०७६ र २०७७ सालभर नेपाल भ्रमण वर्ष २०२० को नारासहितको लोगो राख्नका लागि सबैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षका कार्यक्रमहरुको प्रस्तुतीकरण गरेको उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्ष सफल बनाउन नीतिगत सुधार एवं पूर्वाधार विकास गर्दै सरोकारवाला सबैको साथ र सहयोग अपरिहार्य देखिएको बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । देश विकासको प्रमुख आधारका रुपमा रहेको पर्यटन प्रवद्र्धन गरी भ्रमण वर्षमा कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्तिका लागि सरकारी, निजी एवं सार्वजनिक सबै क्षेत्रको सहकार्यमा कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै भ्रमण वर्षलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

त्यसैगरी बैठकले गत फागुन १५ गते ताप्लेजुङको फुङलिङ नपा–१० दारेढुङ्गा सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा परी तत्कालनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका संयोजक रवीन्द्रप्रसाद अधिकारी लगायत पर्यटन व्यवसायी, राष्ट्रसेवक कर्मचारीहरु एवं पाइलटको दुःखद निधन भएकामा श्रदाञ्जलि व्यक्त गरेको छ ।

बैठकमा पर्यटन सम्बद्ध निजी क्षेत्रका व्यवसायी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, गैरआवासीय नेपाली सङ्घका अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु, प्रदेश नं २, ५ र कर्णाली प्रदेशका मुख्यमन्त्री एवं अन्य प्रदेशका मन्त्रीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेका थिए।