समाचार

सरकारले खटाएको ठाउँमा जानु कर्मचारीको जिम्मेवारी हो: मन्त्री पण्डित

धनगढी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा गएर आफ्नो जिम्मेवारी पूरा गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व भएको बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माविको निर्माण गरिने चारकोठे पक्की भवनको बुधबार शिलान्यास गर्दै मन्त्री पण्डितले चिकित्सकले समायोजनका विषयमा उठाएका माग उपयुक्त नभएको बताए ।

उनले सरकारले खटाएको ठाउँमा सबै कर्मचारी जानुपर्नेमा जोड दिँदै समायोजनामा चित्त नबुझाउनेले गुनासो समितिमा आफ्ना जायज माग राख्न सकिने व्यवस्था गरिएको बताए । झण्डै एक हजार छात्रछात्रा अध्ययनरत उक्त विद्यालयको नयाँ भवन रु ४७ लाख ८६ हजारको लागतमा निर्माण हुन लागेको हो ।