बाग्मती

फेसबुकमार्फत ढाँटी युवतीहरुलाई ठग्ने भट्ट प्रहरी खोरमा

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई सौदाबाजी गर्ने एक जनालाई प्रहरीको महानगरीय अपराध महाशाखा काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षीय केशवराज भट्ट रहेका छन् ।

भट्टले सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक खोली उच्च पदमा रहेका अधिकृतको फोटो राखेर युवतीलाई साथी बनाई सौदाबाजी गर्ने गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उनले आफू उच्च खानदानको भएको र नेपाल सरकारको शाखा अधिकृत भएकाले विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाइ युवतीलाई विश्वासमा पारी रकमसमेत ठगी गरेको खुल्न आएको छ ।

पीडित युवतीले महाशाखामा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा मङ्गलबार काठमाडौँको गौशालाबाट भट्टलाई पक्राउ गरिएको हो । उनलाई विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौँलाई बुझाइएको महाशाखाले जनाएको छ ।