समाचार

नेपाललाई एक हप्तासम्म आराम गर्न चिकित्सकको सुझाव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता भएका छन् । ज्वरो र खोकीले अस्वस्थ्य भएका उनी अवस्था सामान्य भएपछि आज घर फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री नेपाल गत आइतवार ज्वरो र खोकी भएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उनलाई ज्वरोसंँगै खोकी लागेको थियो ।

त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उनको स्वास्थ्योपचार गरेको थियो । चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिएका छ । चिकित्सकको सुझाव अनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको गौतमले बताए ।