समाचार

बिमानस्थलका कर्मचारीलाई यात्रुसंगको व्यबहार सुधार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनु पर्ने बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितीको तेस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने,नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपाल प्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ ” प्रधानमन्त्री ओलीले भने “देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यबहार गर्नु भएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।”

प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न,सडक सफा गर्न ,होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटक मैत्री व्यबहार गर्न सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “भ्रमण बर्ष भब्यताका साथ सफल पार्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “यसका लागि सबैले जुट्नु पर्दछ ।”