गण्डकी प्रदेश

गण्डकी प्रदेशमा नमूना कृषिगाउँ कार्यक्रम

गोरखा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ३६ गाउँपालिकामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कषिगाउँ कार्यक्रम लागू गर्ने भएको छ । प्रदेश सरकारको योजनामा गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनका लागि तयारी अन्तिमचरणमा पुर्याएको कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले जानकारी दिए ।

मन्त्रालयले पहिलो चरणमा ३६ प्रादेशिक निर्वाचन क्षेत्र अन्तर्गत एक÷एक गाउँपालिकामा कार्यक्रम लागू गर्नेगरी क्षेत्र छनोट गरेको मन्त्री थापामगरले बताए । उनले भने, “अहिले प्रत्येक प्रार्देशिक निर्वाचन क्षेत्रको एउटा गाउँपालिकामा कार्यक्रम लागू हुन्छ र आगामी पाँच वर्षभित्रमा प्रदेशभित्र एक पालिका एक कार्यक्रम लागू गर्ने गरी योजना मन्त्रालयले बनाएको छ ।”

कार्यक्रमअन्तर्गत छनोटमा परेका गाउँपालिकाभित्र जुन ठाउँमा जस्तो प्रकारको हावापानी र माटो छ, त्यस्तै प्रकारको वातावरणमैत्री खेती प्रणालीको विकास गर्दै जाने योजना मन्त्रालयले बनाएको उनले बताए । कार्यक्रमले गाउँपालिका वातावरणमैत्री पनि बन्ने र किसानसमेत व्यावसायिक खेतीतर्फ आर्कषित हुने विश्वास मन्त्रालयले लिएको मन्त्री थापामगरको भनाइ छ ।

त्यस्तै छनोटमा परेका गाउँमा बजारको मागअनुसार खेती प्रणालीको विकास गर्दै उत्पादित बस्तुको बजार व्यवस्थापन गर्न एक गाउँ एक कृषि सहकारीको अवधारणासमेत कार्यक्रममा समेटिएको उनले बताए । “नमूना कृषि गाउँमा मत्स्यपालन, पशुपालन, कुखुरापालन र अन्य कषि खेतीमा वैज्ञानिक प्रविधि लागू होस् भन्ने मन्त्रालयको चाहाना हो”, मन्त्री थापामगरले भने, “छनोट भएका गाउँमा कम्तीमा ५० घरपरिवार हुनुुपर्ने व्यवस्था पनि गरिएको छ ।”

उनले प्रदेशमा पहिलो पटक तनहुँ जिल्लाबाट यही चैतदेखि कार्यक्रम शुरु गरिने जानकारी दिए । छनोट भएको क्षेत्रमा कृषकलाई खेती प्रणालीलगायतका बारेमा तालीम प्रदान गर्न एकजना कृषि जेटिएको समेत रहने व्यवस्था मन्त्रालयले गरेको मन्त्री थापाले बताए ।

कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँमा माटो र हावापानी अनुसारको फलफूल खेतीको विकास पनि गर्ने लक्ष्य मन्त्रालयको रहेको उनले बताए । “यस्ता खालका कार्यक्रमले गाउँ स्वच्छ सफा, सुन्दर र हराभरा हुने र वातावरणमैत्री पनि बन्छ”, मन्त्री थापाले भने, “सँगसँगै प्रत्येक परिवारले आम्दानी पनि गर्नसक्ने हुँदा यसले ग्रामीण क्षेत्रमा आयआर्जनमा वृद्धि गर्नसमेत मद्दत पुग्छ ।”