सुदूरपश्चिम

गाजरका परिकार प्रदर्शनमा

लम्की । कैलालीको टीकापुरस्थित सिर्जनशील युवा कृषक समूहले गाजरका परिकार प्रदर्शन गरेको छ । समूहले शुक्रबारदेखि टीकापुरमा शुरु भएको होली पर्वलाई मध्यनजर गरेर गाजरको परिकार प्रदर्शन गरेका हो ।

प्रदर्शनीमा गाजरबाट तयार पारिएको बर्फी, हलुवा, जुस र सलाद राखिएको छ । पहिलो दिन राम्रो बिक्री भएको समूहको भनाइ छ । गाजरको परिकार ८ गतेसम्म प्रदर्शन गर्ने बताइएको छ । “गाजरको बजारीकरण गर्न परिकार प्रदर्शनी कार्यक्रम गरेका हौँ”, समूहका सचिव रङ्ग अधिकारीले भने, “गाजरको सलाद मात्र हुन्छ भन्ने बुझाइ छ तर गाजरबाट हलुवा, बर्फी र जुस पनि बन्छ भन्ने कुरा सिकाउने प्रयास हो ।”

परिकार तयार पार्न समूहले स्थानीय एक होटलका कुकलाई प्रयोग गरेको छ । “टीकापुरमा उत्पादन भएको गाजर यही क्षेत्रमा खपत होस् भन्ने हाम्रो समूहका साथीको उद्देश्य हो”, कुक मोहन जैशीले भने, “गाजरका परिकार बनाउँदा दूध, खोया र कन्डेन्सन मिल्क प्रयोग गरिएको छ, गाजरको परिकार सस्तो र स्वस्थ हुन्छ, उपभोक्तालाई बुझाउन यो प्रदर्शनीले सहयोग गर्छ ।”

कृषक समूहले टीकापुरस्थित खाद्य संस्थानको चार बिघा जग्गा भाडामा लिएर गाजरखेती गरेको छ । यहाँ उत्पादन भएको गाजर सुदूरपश्चिम र प्रदेश नं ५ का विभिन्न जिल्लामा बिक्री हुनेगरेको छ । यसरी सातजना युवाले समूह बनाएर गाजर खेती गरे पनि बिचौलियाका कारण बिक्रीमा समस्या रहेको उनीहरुको भनाइ छ । बजार नपाएपछि रु २५ प्रतिकिलो थोक मूल्यमा गाजर बिक्री गरिरहेको सदस्य मातृका तिमिल्सेनाले बताए। “अहिलेसम्म २० क्विन्टल बिक्री गर्यौँ, यतिखेर हामीसँग दुई सय क्वीन्टलसम्म गाजर छ”, तिमिल्सेनाले भने ।

कैलाली र कञ्चनपुरमा पहिलो पटक यति परिमाणको गाजर उत्पादन भएको कृषिसेवा केन्द्र टीकापुरको भनाइ छ । टीकापुरमा गाजर उत्पादन हुनथालेपछि भारतबाट आउने गाजर रोक्नुपर्ने व्यवसायीको भनाइ छ । रानी, जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ गाजरखेतीमा आकर्षण बढाउन बीउ अनुदान सहयोग गरेको हो ।