उर्जा

नेपाल–जर्मनी सम्बन्ध: नवीकरणीय ऊर्जा प्रदर्शनी

ललितपुर । नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशका उपलक्ष्यमा जर्मनीले यही चैत २९ देखि आगामी वैशाख १३ गतेसम्म ललितपुरमा नवीकरणीय ऊर्जासम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ ।

पुल्चोकस्थित त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा आयोजना हुने प्रदर्शनीमा ऊर्जाका स्रोत, तिनको उपयोगबाट हासिल हुने ऊर्जा, सौर्य ऊर्जालगायत क्षेत्रमा हासिल भएका नवीनतम विषय झल्काउने सामग्री समावेश गरिने काठमाडौँ स्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ ।
प्रदर्शनीको उद्घाटनका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन तथा नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले अर्थतन्त्रको उन्नयन तथा आर्थिक विकासमा नवीकरणीय ऊर्जाको प्रयोगबाट मिल्ने सहयोग, यसको विस्तार, चुनौती र सम्भावनाका बारेमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।