सुदूरपश्चिम

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन हुँदै

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत व्यवस्थित सडक, ढल लगायतका संरचना निर्माणको प्रक्रिया शुरु हुन लागेको छ । उपमहानगरपालिका प्रमुख नृपबहादुर ओडले क्षेत्रीय शहरी विकास आयोजनाको काम अघि बढ्न लागेको जानकारी दिए । उक्त आयोजनाअन्तर्गत धनगढी उपमहानगर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो बनाई स्तरोन्नति एवं निर्माण गर्ने लक्ष्य रहेको छ ।

“पहिलो चरणमा सातवटा सडकलाई फराकिलो बनाई स्तरोन्नति र विस्तार गरिन लागिएको छ”, नगर प्रमुख ओडले भने, “दोस्रो चरणमा बाँकी रहेका सडक निर्माण गरिने छ ।” उनले आयोजनाअन्तर्गत निर्माण हुन लागेका सडक लगायतका संरचनाबाट धनगढीको मुहार फेरिने भएकाले यसको कार्यान्वयनका लागि सबैलाई सहयोग गर्न आग्रह गरे । पहिलो चरणमा धनगढी बजार क्षेत्रको मुख्य सडक, कैलाली बहुमुखी क्याम्पस गेटदेखि जाखोरताल सडक, धनगढी–खुटीया–स्याउले सडक, चटकपुर–क्याम्पस रोड, मालपोत कार्यालय रहेको सडक, हसनपुर सडक, लगायतका सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

आयोजनाका इञ्जिनीयर रुपचन्द्र बुढाथोकीले आयोजनाअन्तर्गत निर्माण र स्तरोन्नति गर्न लागिएका सडकमा तोकिएको मापदण्ड नघटाइएको बताए । धनगढीको मुख्य बजारको सडकको चौडाइ २४ मिटर बनाउन लागिएकोमा अन्य सडक पनि अहिलेको भन्दा फराकिलो बनाउन लागिएको छ ।

सडक मिचेर घर संरचना निर्माण गर्ने, जथाभावी निर्माण सामग्री थुपार्ने, व्यापार व्यवसाय गर्ने प्रवृत्ति बढेसँगै धनगढीको मुख्य बजारको सडक साँघुरिँदै जाँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको अवस्थामा सडकको स्तरोन्नतिको कार्यले व्यवस्थित र आकर्षक शहरको रूपमा विकास हुने अपेक्षा गरिएको छ । यसका लागि तीन वर्षअघि नै रु एक अर्ब ३५ करोड बजेट छुट्याइएकोमा उक्त बजेटले हाल झण्डै १० किलोमिटर सडक मात्र काम हुनसक्ने देखिएको छ । “पहिलेको लागत अनुमानअनुसार अहिले सबै सडक बन्न नसक्ने भएकाले बाँकी सडक स्तरोन्नतिका लागि थप बजेट माग गरिएको छ”, इञ्जिनीयर बुढाथोकीले भने ।

आयोजनाअन्तर्गत धनगढी उपमहानगरमा जम्मा हुने फोहरमैलाको व्यवस्थापन गर्न जग्गाको खोजी गरेर ‘ल्याण्डफिल साइट‘ निर्माण गर्न भएको ढिलाइले आयोजनाको काम पनि समयमै अघि बढ्न सकेको थिएन । यद्यपि फोहरमैला व्यवस्थापनको अन्तिम टुङ्गो भने अझै लागि नसकेको जनाइएको छ । उपमहानगरपालिकाले वडा नं २ को मोहना नदी किनारको जग्गामा फोहरमैला व्यवस्थापनका लागि ठाउँ तय गरेकोमा स्थानीयवासीको विरोध हुँदा समस्या सिर्जना भएको जनाइएको छ ।

एशियाली विकास बैंकको आयोजना समन्वय कार्यालय र उपमहानगर कार्यालयबीच झण्डै तीन वर्षअघि उपमहानगर क्षेत्रमा शहरी पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौता भएको थियो । बिना योजना शहरका रुपमा विकास हुँदैगएको उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना र खुटिया नदीको कटान, ढल निकास, सडक निर्माण तथा स्तरोन्नति, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोवास आदि मुख्य समस्याका रुपमा रहेका छन् ।

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई झण्डै चार वर्षअघि साविकको फूलबारी र उर्मा गाविसलाई समेटेर धनगढी उपमहानगरपालिका बनाइएको थियो ।