मनोरञ्जन

आरुसी फिल्मको लोकलयमा आधारित डालीमा रिलिज (भिडियो सहित)

काठमाडौँ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ । मंगलबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ । लय संग्रोलाको शब्द रचनामा विकास चौधरी संगीतबद्ध गीतमा पुराना एवं पाका कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको छ । टिपीकल शब्द भएका कारण यो गीत जनजिब्रोमा झुण्डिने गायक सुसनको विश्वास छ । त्यसो त पछिल्लो समय चलचित्रमा लोकलयका गीतहरुले प्राथमिकता निकै पाउने गरेको छ । संगीतकार विकास चौधरी सार्वजनिक गीतबाट निकै आशावादी छन् ।

उदय सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । नयाँ युवा पीडिको चाहाना बमोजिम टिनएजको कथा उठाएर यो पटक आफू प्रस्तुत भएको निर्देशक सुब्बाले बताए । चलचित्रमा इशक राई, रमा लिम्बु, कला राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । इशकले यसै चलचित्रबाट नायकको रुपमा डेव्यु गरेका हुन् । सार्वजनिक गीतमा इशक र रमा फिचर भएका छन् । यो चलचित्र आगामी असार २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।