अन्तर्राष्ट्रिय

नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ ।

तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ । भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय वरिष्ट नेता नेतान्याहुमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो । करिब ९७ प्रतिशत मतगणना भइसक्दा १२० सदस्यीय इजरायली संसद ९नेसेट० मा नेतान्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थानमा विजय हासिल गरेका छन् ।

मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । तर दुबै पार्टीले स्पष्ट बहुमत भने प्राप्त गरेका छैनन् । साना दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था रहे पनि लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्नेछ ।

प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा बुधबार आयोजित एक कार्यक्रममा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिएका छन् । “अबको सरकार दक्षिणपन्थीकै हुन्छ, तर म सबैको प्रधानमन्त्रीका रुपमा कार्य गर्नेछु ।” तर ब्लू एन्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्नेमा जोड दिए।

इजरायली चुनाव आयोगले मतदानको अन्तिम नतिजा बुधबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।