शिक्षा

होटल म्यानेजमेन्टमा छात्रा सहभागिता बढाउन सत प्रतिशत छात्रवृत्ति दिने गेट कलेजको घोषणा 

काठमाडौँ । विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ । कलेजले महिलाहरूको यस्तो कमजोर सहभागितालाई लक्षित गरेर छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्तिको घोषणा गरेको छ । गेट कलेज नेपालमै स्वीस डिग्री अध्ययन गराउने नेपालको मात्र नभएर एसिया–प्रशान्त क्षेत्रकै पहिलो शैक्षिक प्रतिष्ठान हो । यस कलेजमा हाल गेट–एसचएचए हायर डिप्लोमा इन होटल एन्ड रेष्टुरेन्ट म्यानेजमेन्ट अध्यापन भइरहेको छ, जुन त्रिभुवन विश्वविद्यालयको बीएचएम समकक्षता प्राप्त स्वीस शैक्षिक डिग्री हो ।

“नेपालको पर्यटन उद्योगको विस्तार व्यापक रूपमा हुँदै गइरहेको छ, तर यहाँ सीपयुक्त दक्ष जनशक्तिको अभाव खड्किँदै गएको छ,” गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईं भने– “ यस क्षेत्रमा दक्ष र सीपयुक्त जनशक्ति आपूर्तिका लागि एकमात्र माध्यम भनेको पर्यटन र होटल व्यवस्थापनको शिक्षा नै हो, जुन अति नै खर्चिलो छ । यस्तो शिक्षा अध्ययनका लागि न्यून आय भएका विद्यार्थीलाई सघाउने माध्यम भनेकै छात्रवृत्ति हो ।”
उनले देशको पर्यटन क्षेत्रका लागि चाहिने अतिरिक्त जनशक्ति उत्पादनमा सहयोग पुर्याउन न्यून आय भएका र मिहेनेती तथा जेहेनदार छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। “हाम्रो पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्न आवश्यक छ नै, पर्यटन उद्योगको उच्च पदमा महिला जनशक्तिको अभाव पूर्तिका लागि पनि हामीले छात्राहरूलाई आवश्यकता र मेरिटको आधारमा सत प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरेका हौं,” लकाईंले भने ।

राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा हालसम्म नेपालका ७७ वटै जिल्लाका छात्रछात्राका अलावा विभिन्न १९ देशका विद्यार्थीहरूले समेत अध्ययन गर्दै आएका छन् । गेट कलेज नेपालका लागि आईएचजी एकेडेमीका रूपमा समेत छनौट भइसकेको छ, जसका माध्यमबाट यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले विश्वभरिकै आईएचजी समूहका होटल, रिसोर्टमा इन्टर्नशीप अवसर पाउँदै आएका छन् । यसका साथै विश्वका करिब २० मुलुकका विभिन्न होटल तथा रिसोर्टहरूमा गेट कलेजका ९६ प्रतिशत विद्यार्थीले ‘पेड इन्टर्नशीप’ पाउँदै आएका छन् ।