कर्णाली प्रदेश

आचार्य हत्या प्रकरणः दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप पीडा

सुर्खेत । वीरेन्द्रनगर–१ निवासी व्यवसायी चन्द्रप्रसाद आचार्यको शङ्कास्पद मृत्यु भएको ४० दिन बित्यो । प्रहरीले आचार्यको हत्याको भएको स्वीकार गरे पनि घटनामा संलग्नको भने अझै पहिचान गर्न सकेको छैन ।

यही फागुन १८ गते वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै आचार्यको शव रक्ताम्य अवस्थामा फेलापरेको थियो । परिवारका सदस्यले हत्यामा संलग्नको पहिचान गरी कानूनी कारवाही गर्ने प्रहरीले आश्वासन दिए पनि अनुसन्धानमा चासो नदिएको आरोप लगाएका छन् । छोरी सङ्गीताले प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको दुखेसो पोखेकी छन् । “बुबाको स्वभाविक मृत्यु भएको भए हामीलाई यति तनाव हुन्थेन”, उनले भनिन्, “हत्या हुँदासमेत प्रहरीले घटनालाई हल्कारूपमा लियो, हामी परिवारलाई पीडामाथि पीडा भोग्नुप¥यो ।”

वीरेन्द्रनगर जुम्लारोडमा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका आचार्य फागुन १८ गते बैंकमा खाता खोल्नुछ भन्दै दिउँसो घरबाट निस्कनुभएको थियो । दिनभर नास्ता पसलमै रहनुभएका उहाँ सोही दिन राति साढे १० बजे बुद्धपथमा मृतावस्थामा फेला पर्नुभएको थियो ।

आचार्यको शरीरमा गहिरो चोट भए पनि शव भेटिएको स्थानमा रगत नदेखिएकाले अन्यत्रै हत्या भएको हुनसक्ने परिवारको दाबी छ । “टाउकोको दुवै भागमा गहिरो चोट र दायाँ भागमा निलडाम थियो”, दाजु भवानीप्रसादले भन्नुभयो, “प्रदेश राजधानीको मुख्य बजारमा भएको घटनाको अनुसन्धानमा भइरहेको ढिलाइले परिवारमा आशङ्का उब्जाएको छ ।” शव परीक्षण रिपोर्टमा करङ भाँच्चिएको बताइएको छ । चन्द्रप्रसादको कुनै पनि व्यक्तिसँग लेनदेन, झैझगडा वा मनमुटाव केही नभएको परिवारको भनाइ छ ।

सुक्ष्म अनुसन्धान भइरहेको छ: प्रहरी

उता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले चन्द्रप्रसाद आचार्य हत्या प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेको छ । जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानमा दत्तचित्त भएर खटिरहेको प्रहरीमाथि परिवारकै सदस्यबाट अनावश्यक आरोप लगाउनु दुखद् भएको बताए ।

उनले हत्याका ठोस आधारहरु नभेटिएपछि शून्यबाट घटनाको अनुसन्धान गर्नुपरेको बताए । “घटनालाई गम्भीररूपमा लिएका छौँ”, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने, “अनुसन्धानकै क्रममा २० बढीलाई सोधपुछ गरिसकेका छौँ । मङ्गलबार पनि दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।’ अनुसन्धान गर्ने बित्तिकै परिणाम नआउने भन्दै यस घटनालाई गम्भीरतापूर्वक लिएर नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरीले घटनास्थलमा भेटिएका प्रमाणलाई ल्याव परीक्षणका लागि काठमाडौँ पठाएको छ ।