कर्णाली प्रदेश

जीप दुर्घटना हुँदा एकको मृत्यु

जाजरकोट । जाजरकोट – डोल्पा सडक खण्डअन्तर्गत नलगाड नगरपालिका – ९ दारिमपाटामा जीप दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

तल्लु बगरबाट दल्लीतर्फ आइरहेको ग १ ज ५८१२ नम्बरको जीप दुर्घटना हुँदा भेरी नदीमा खसेको थियो । करीब ३० देखि ४० मिटर तल जीप खस्दा रुकुम आठबीसका नगरपालिका– ११ का चार वर्षीय विवेक नेपालीको मृत्यु भएको तथा उनकी २३ वर्षीया आमा लक्ष्मी घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै नलगाड – ९ का २२ वर्षीय राजेन्द्र विक गम्भीर घाइते भएका छन् ।

अन्य घाइतेमा नलगाड –१० का तेजबहादुर विक, नलगाड – १ का भरत परियार, नलगाड – ११ का १७ वर्षीय दुर्गेश बानियाँ र १६ वर्षीया खिमा बानियाँ रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । दल्ली स्वास्थ्थ्यचौकीमा उपचार हुन नसकेपछि घाइतेको थप उपचार गर्न जाजरकोट अस्पतालमा ल्याइएको प्रजिअ बस्नेतले बताए।