समाचार

विकासका कार्यक्रमको प्रगति सन्तोषजनक

काठमाडौँ । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिक अवधिमा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको प्रगति सन्तोषजनक रहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा मन्त्रालयमा आज बसेको समीक्षा बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकमा मन्त्रालय, नेपाली सेना र सो मातहतका निकायबाट सञ्चालित विभिन्न विकास कार्यक्रम तथा आयोजनाहरूको चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिको समग्र वित्तीय तथा भौतिक प्रगति आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने मुख्य विषयमा विस्तृत छलफल गरिएको थियो ।

मन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विभिन्न आयोजनामध्ये अधिकांशको भौतिक प्रगति सन्तोषजनक रहेको, राष्ट्रिय महत्वका आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको र प्रक्रियागत कारणले कतिपय आयोजना तथा कार्यक्रमको वित्तीय प्रगति भौतिक प्रगतिको तुलनामा केही कम देखिएपनि तेस्रो चौमासिकमा लक्ष्य बमोजिम वित्तीय प्रगति हुने गरी कार्य अघि बढाइएको विभागीय प्रमुखले जानकारी दिए ।

बैठकमा नेपाली सेनाबाट निर्माण भइरहेको काठमाडौँ –तराई– मधेश द्रुतमार्ग लगायत विभिन्न भौतिक पूर्वाधार तथा कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ करिडोर, कालीगण्डकी करिडोरको प्रगति समीक्षा र कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।