राजनीति

विश्व शान्ति र मानवअधिकारका लागि संसद्को भूमिका महत्वपूर्ण– सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले नेपालको संसद्का तर्फबाट गठन गरिएको नेपाल–पाकिस्तान संसदीय मैत्री सङ्घको नामावली पाकिस्तानी सभामुख असद क्वाइसरलाई हस्तान्तरण गरेका छन् ।

अन्तर व्यवस्थापिका सङ्घ ९आइपियू० को १४० औँ सभामा सहभागी हुन कतारको दोहा पुगेका सभामुख महरा र पाकिस्तानका राष्ट्रियसभाका सभामुखबीच सोमबार राति भएको भेटमा उनले उक्त नामावली हस्तान्तरण गरेका थिए।

भेटमा उनीहरुले आ–आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरेका सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । विश्व शान्ति र मानवअधिकारका लागि संसद्को भूमिका महत्वपूर्ण हुनेमा दुवै देशका सभामुखको एक मत रहेको थियो ।

जवाफमा पाकिस्तानका सभामुख असदले आफूहरुले पनि चाँडै पाकिस्तान–नेपाल संसदीय मैत्री सङ्घको गठन गर्ने बताएका थिए । उनले नेपालसँगको सम्बन्ध बलियो रहेको भन्दै संसदीय मैत्री सङ्घले कूटनीतिक मात्रै नभई राजनीतिक सम्बन्ध प्रगाढ बनाउन थप टेवा दिने विश्वास व्यक्त गरे ।

यसैगरी सभामुख महराले नेपालको संसद्का तर्फबाट गठन गरिएको नेपाल–बङ्गलादेश संसदीय मैत्री सङ्घको नामावली बङ्गलादेशका सभामुख शिरिन शर्मिन चौधरी लाई हस्तान्तरण गरे ।