समाचार

नेपालमा व्यापार प्रवद्र्धन गर्दै ताइवानी व्यवसायी

काठमाडौ । नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् ।

ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित सो प्रतिनिधिमण्डलले यही वैशाख ५ गते नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको आयोजकको तर्फबाट नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताए ।

सो अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्तालाई आह्वान गरिएको र उक्त कार्यक्रमले नेपाली व्यवसायीलाई ताइवानी उत्पादक तथा आपूर्तिकर्तासँग आफ्नो व्यापार विस्तार गर्ने उपयुक्त अवसर हुनसक्ने आयोजकको विश्वास छ ।

ताइवानी प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेसिन, खाद्यपदार्थ तथा जुस, स्टिलपाता तथा कोइला, एलइडी बत्ती तथा सङ्ख्यात्मक डिस्प्ले, सिसीटिभी क्यामरा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका विषयमा छलफल गरिने जनाइएको छ । ‘ब्यूरो अफ फोरिगन ट्रेड’ को प्रायोजनमा ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलले भ्रमण तथा अन्तरक्रियाको प्रायोजन गर्नेछन् ।