आर्थिक

विभिन्न बैंकबाट एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा

पेरिस । फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ ।

बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा “नाफामुलक र दिगो वृद्धि”लाई सुनिश्चित गर्ने सोसाइटीको मुख्य लक्ष्य रहेको छ । फ्रान्समा कटौती हुने कर्मचारीलाई स्वेच्छिक अवकाश योजना उपलब्ध हुनेछ । अन्य देशका कर्मचारीलाई भने स्थानीय नियम र कानुनका आधारमा हटाइनेछ । फ्रान्सको सीएफडीटी युनियनका प्रतिनिधि खालिद बेल हादोईले प्रत्येक वर्ष कर्मचारी कटौती गर्दै जाने सहमति भएको जानकारी दिए।

बैंकले यसअघि नै सन् २०२० सम्ममा वार्षिक ५६ करोड अमेरिकी डलर लागत कटौती गर्ने योजना सार्वजनिक गरेको थियो ।

तर बैंकले सन् २०१८ मा सोचेभन्दा बढी नाफा आर्जन गर्न सफल भएको थियो । यस बैंकमा विश्वभर करिब एक लाख ४८ हजार कर्मचारी कार्यरत छन् ।