सुदूरपश्चिम

हावाहुरीबाट स्वास्थ्य कार्यालयको छाना उडाउदा स्वास्थ्य सेवा प्रभावित

डोटी । आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिए।

एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि उडाएकोे बताइएको छ । छाना मर्मतसहित अन्य उपकरणको व्यवस्था मिलाइदिन स्थानीयवासीले आग्रह गरेका छन् ।
लाखौँको नोक्सानी
हावाहुरीसँगै आएको असिनाले जिल्लाका विभिन्न ठाउँमा लाखौँको बालीनाली नोक्सानी गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका बडिकेदार, जोरायल, केआइसिंह, सायल, आदर्श, पूर्वीचौकी, बोगटानलगायत गाउँपालिका तथा शिखर नगरपालिका– १ मा ठूलो मात्रामा असिना परेको छ । असिनाका कारण सो क्षेत्रका सयौँ रोपनी खेतमा लगाइएको लाखौँको गहुँजौ खेती, तोरीबाली तथा तरकारीलगायत अन्यबालीमा ठूलो नोक्सानी पुगेको छ । असिना तथा हावाहुरीले जिल्लामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए।
सोमबार साँझ ५ बजेतिर आएको हावाहुरीसँगै परेको असिनाले पाकेर भित्र्याउनै लागिएको गहुँबालीमा बढी नोक्सान पु¥याएपछि यहाँका किसान भोकमरी हुने चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा गहुँ र तोरी खेतीमा आश्रित किसान असिना पानीले फुलेको तोरी र पाकेको गहुँमा क्षति पुगेपछि निराश भएका छन् । असिनाले किसानले लगाएका टमाटर, बन्दा, प्याज र काँक्रा खेतीमा समेत नोक्सानी पुगेको बताइएको छ ।

जोखिम न्यूनीकरणका योजना माग हुँदैनन्
जिल्लामा विपद् जोखिम न्यूनिकरणका योजनामा माग नै नहुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले आफू निर्वाचित भएर आएदेखि हालसम्म कसैले पनि विपद् जोखिम न्यूनीकरणका योजना माग नगरेको बताउनुभयो । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र ‘सिडिसी’ डोटीले पूर्वीचौकी गाउँपालिकामा जनप्रतिनिधि र सरोकारवालासँग गरेको संवाद कार्यक्रममा अध्यक्ष बोगटीले मागै नभएका योजना बनाउन गाह्रो हुने बताउँदै भन्नुभयो, “गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कार्यविधि पास गरिसकेको छ, योजना चाहियो ।

” उक्त गाउँपालिकामा विपद्का हिसाबले सङ्कटासन्न क्षेत्र पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराइएको र विपद् व्यवस्थापनका लागि करीब रु १५ लाखको कोष स्थापना भएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो । बस्तीस्तरबाटै विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजना माग भएर आएमा निश्चित योजना बनाएर लागु गरिने पूर्वचौकी गाउँपालिकाका उपाध्यक्ष एवं योजना तर्जुमा समितिका अध्यक्ष निर्मला साउदले बताउनुभयो ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले परियोजनाअन्तर्गत भइरहेका कार्यक्रमबारेमा जानकारी दिनुभएको थियो । सिडिसीले सञ्चालन गरिरहेको नेपाल विपद् जोखिम न्यूनीकरण परियोजना २०१८ फेबु्रअरीदेखि २०१९ सेप्टेम्बरका लागि डोटीका दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा सञ्चालन भइरहेको छ ।