समाचार

पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरियो

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताईन् ।

अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र वर्षा भइरहेको मौसमविद् बासीले भनिन् । आज देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने बताइएको छ ।

प्रिमनसुनको समयमा मध्याह्नपछि मेघगर्जन, हल्का वर्षा, हावाहुरी चल्ने र चट्याङ पर्ने सामान्य गतिविधि हो । तर अहिले विभिन्न प्रणाली मिसिएर मौसम प्रभावी भइरहेको मौसमविद्को भनाइ छ । यस प्रणालीको प्रभावले अझै केही दिन मौसम पूर्णरूपमा सफा हुने अवस्था नरहेको बताइएको छ ।

भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।