अन्तर्राष्ट्रिय

भिडन्तबाट बच्न त्रिपोलीमा झण्डै तीन हजार परिवार विस्थापित

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा भएको भिडन्तबाट बच्न यहाँका दुई हजार ८०० घर परिवार विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघको सहयोग रहेको सरकारी सुरक्षाफौज र पूर्वीयको सहयोग रहेको सेनाका बीच भिडन्त भएपछि उनीहरु घर छाडेर भागेका हुन् । राष्ट्रसंघीय एक अधिकारीले सोमबार भने “राजधानी त्रिपोली र आसपासमा हिंसात्मक घटना बढ्दै गएकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् ।”

त्रिपोलीमा आपतकालिन सेवा र विद्युत सेवा समेत अवरुद्ध भएको लिबियास्थित राष्ट्रसंघीय मानवीय सहायता संयोजक मारिया रिबेइरोले जानकारी दिए । उनले जारी गरेको वक्तव्यमा द्वन्द्वबाट प्रभावित क्षेत्रमा आपतकालिन सेवाहरु सञ्चालन गर्ने वातावरण बनाउन र प्रभावितहरुलाई अत्यावश्यक सेवा तथा सहयोग प्रदान गर्न आह्वान गरिएको छ । भिडन्तले शरणार्थी र आप्रवासीहरुलाई पनि असर पारेको वक्तव्यमा उल्लेख गरिएको छ ।

त्रिपोलीमा हिंसा भड्किएकाले अहिले त्रिपोलीस्थित विमानस्थलमा पनि सेवा बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको स्वास्थ्य मन्त्रायले जनाएको छ । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकू र अन्तर्राष्ट्रियरुपमा मान्यताप्राप्त सरकारको सेनाबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमणसमेत भएका थिए ।

संयुक्तराष्ट्र सङ्घ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुबै पक्षलाई आग्रह गरेपनि भिडन्त रोकिएका छैनन् । लिबियाका नेता मौमर गद्दाफीको सन् २०११ मा मृत्यु भएपछि पनि लिबियामा विभिन्न समूहबीच युद्ध जारी छ । यी समूहबीच शक्ति हत्याउने र तेलकुवामा बर्चश्व कायम गर्न बेलाबखत भिडन्त हुने गरेको छ । हफ्तारको पछिल्लो क्रियाकलापले मुलुकलाई थप गृहयुद्धमा धकेल्ने सम्भावना रहेको जानकार बताउँछन् । लिबियामा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका निम्ति भइरहेका अन्तर्राष्ट्रिय कुटनीतिक प्रयास पनि सफल हुन नसकेका समाचारमा जनाइएको छ ।