खेलकुद

प्रथम मिस्टर मेयर कप २०७५’ मा गोर्खाली प्रथम

भक्तपुर । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुरको यचूमा आयोजना भएको ‘प्रथम मिस्टर मेयर कप २०७५’ मा गङ्गाराम गोर्खालीले प्रथम पुरस्कार हात पारेका छन् ।

मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिले चार वटा वजन समूहमा मध्यपुरमा आयोजना भएको प्रतियोगिताको खुल्लातर्फ नितेश श्रेष्ठ दोस्रो, सुरेश श्रेष्ठ तेस्रो र एम्जार कार्की चौथो भएका छन् भने उत्कृष्ट खेलाडी नितेश श्रेष्ठ घोषित भएका समितिका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी ५५ केजीतर्फको प्रतिस्पर्धामा सुरेश श्रेष्ठ प्रथम, दिनेश बोडे दोस्रो, राजेश यादव तेस्रो ६० केजीतर्फको नितेश श्रेष्ठ प्रथम, रञ्जन मानन्धर दोस्रो, शिभाली भटन तेस्रो र ६५ केजीतर्फको प्रतिस्पर्धामा गङ्गाराम गोर्खाली प्रथम, श्रीकृष्ण जनोशी दोस्रो र सुरोज प्रजापति तेस्रो भएका छन् ।

प्रत्येक तौल समूहबाट प्री जजिङबाट पाँच खेलाडीलाई अन्तिम चरणका लागि छनोट गरिएको कार्यक्रमका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीलाई क्रमशः स्वर्ण, रजत तथा कास्य पदकसहित प्रमाणपत्र तथा चौथो एवं पाँचौँ हुने खेलाडीलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतियोगितामा प्रत्येक तौल समूहको समूहगत विजेताबीच प्रतिस्पर्धा गराई प्रथम हुने खेलाडीलाई फस्ट मध्यपुर मेयर कपको उपाधि, ट्रफी तथा ब्यानेट प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा चौथो हुने खेलाडीलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैँया पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खेलले मानिसको स्वास्थ्यलाई मजबुद बनाउने मात्रै नभई युवावर्गलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने बताए ।