समाचार

अब नागरिकता राजनीति गर्ने विषय बन्दैन: उपप्रम पोखरेल

लहान । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब नागरिकताको विषय राजनीति गर्ने विषय नबन्ने बताएका छन् ।

लहान महोत्सव २०७५ को सोमबार उद्घाटन गर्दै उनले भने, “विगतमा नागरिकताको सवालमा राजनीति हुँदै आए पनि अब नागरिकताको विषय राजनीति बन्न दिइने छैन ।”

नेपालमा जन्मेका अङ्गीकृतका छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिइने गरी विधेयक संसद्मा टेबुल भइसकेको र त्यो पारित हुनासाथ नागरिकताको समस्या सधैँका लागि अन्त्य हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

“नागरिकताको सवालमा नेपालभन्दा नरम दक्षिण एशियाकै कुनै पनि देश छैन्, उनले भने, “छिमेकी देश भारतमा विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाइन्छ, पाकिस्तामा २ वर्षमा, बङ्गलादेशमा १ मा र माल्दिभ्समा नागरिकता पाउन १५ वर्ष लाग्छ, त्यसमा पनि मुस्लिम धर्म स्वीकार गर्नै पर्छ, तर नेपालमा विवाह गरेको भोलि पल्टै अङ्गीकृत नागरिकता पाइन्छ ।”

उपप्रधानमन्त्री पोखरेलले अब नेपालमा जन्मेका अङ्गीकृत आमा वा बाबुका सन्तानलाई वंशजका आधारमा नागरिकताको व्यवस्था गर्न लागिएकाले बाहिरबाट आएकाले पनि चलखेल गरी नागरिकता लिन सक्ने भएकाले यसप्रति सचेत रहनुपर्नेमा जोड दिदैं यदि स्थानीय तहका कुनै पनि जनप्रतिनिधि अथवा कर्मचारी भ्रष्ट छन् भने नडराई निर्धक्क साथ सरकारलाई जानकारी गराउन सबैमा आग्रह गरे ।

कृषि र पर्यटनको विकासले मात्र सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउँदै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि स्थानीय सरकारले ठोस योजना बनाएर अघि बढे केन्द्रीय सरकारले सहयोग गर्न तत्पर रहेको धारणा व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले तराईका खेत बाँझो नराख्नका लागि सरकारले सुनकोशी कमला डाइभर्सनको काम तीव्र गतिमा अगाडि बढाइसकेको र यसलाई यसै आवको नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।

उनले भने, “तराई मधेश अन्नको भण्डार हो, यहाँ तरकारी, फलफूल उत्पन्न गरी आत्मनिर्भर बन्न सकिने प्रचुर सम्भावना छ तर भारत, चीन लगायत देशबाट अझै दाल, चामल, तरकारी र फलफूल लियाउँदैछ, यसको अन्त्य गर्न स्थानीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्न केन्द्र सरकार सधैँ प्रतिबद्ध छ ।”

सो अवसरमा लहान नगरपालिकाका प्रमुख मुनि साहले महोत्सवको प्रमुख उद्देश्य पर्यटन क्षेत्रको विकास गर्नु रहेको बताए । प्रतिनिधसभाका सदस्य लीलानाथ श्रेष्ठ, सुरेशचन्द्र दास यादव, प्रदेशसभा सदस्य लगनलाल चौधरी, अशोककुमार यादव लगायतले सरकारले तराई मधेशमा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटकीय क्षेत्रको विकासका लागि विशेष योजना ल्याउनुपर्नेमा जोड दिए ।

‘हाम्रो लहान समृद्ध लहान, पर्यटकसहितको सुन्दर नगर निर्माण हाम्रो अभियान’ मुख्य नाराका साथ आजदेखि शुरु भएको महोत्सव वैशाख १० गतेसम्म चल्नेछ । लहान नगरक्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार, प्रसार तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ लहानस्थित पशुपति माविको पछाडि खुल्ला मैदानमा शुरु भएको महोत्सवमा २०० कक्ष राखिएका छन् । महोत्सव अवधिभरि विभिन्न जातजातिको कलासंस्कृति झल्किने झाँकी तथा प्रख्यात कलाकारहरुद्वारा गीत नृत्यको प्रस्तुतिसँगै महिला तथा पुरुष फुटबल, कुस्ती, कराँते लगायतका खेलकूद प्रतियोगितासमेत आयोजना गरिने आयोजकले जनाएको छ ।