लुम्बिनी

संसद्मालाई कुर्न नसकेर सरकारले खतरनाक काम गरेको छ: अध्यक्ष केसी

खस्यौली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जन्मका आधारमा नागरिकता लिएको आमाबाबुका सन्तानलाई वशंजका आधारमा नागरिकता दिने सरकारको निर्णयको विरोध गरेको छ ।

अखिल नेपाल शिक्षक सङ्घको पाँचौ राष्ट्रिय परिषद्लाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले संसद्मा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रजिअमार्फत जन्मका आधारमा नागरिकता लिएको आमाबाबुका सन्तानलाई वशंजका आधारमा नागरिकता नागरिकता बाँड्ने काम गरेकोमा आपति जनाए ।

अध्यक्ष केसीले अङ्गीकृत नागरिकता पाएकाबाट जन्मिएकालाई वंशजको नागरिकता दिनाको कारण स्पष्ट गर्न सरकारसँग माग गर्दै नागरिकता विधेयक संसद्मा हुँदाहुँदै त्यसलाई कुर्न नसकेर सरकारले खतरनाक काम गरेको आरोप लगाए । सरकारले देश र जनातको पक्षमा काम गर्न नसकेको उल्लेख गर्दै उनले शिक्षामा भएको निजीकरणले देशमा जनशक्ति बस्ने वातावरण नरहेको बताए ।

शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष सानो भाइकाजी कार्की, पूर्वअध्यक्ष नरेन्द्रबहादुर थापा, नेपाल शिक्षक महासङ्घका उपमहासचिव तारा बेल्बासे, अखिल नेपाल शिक्षक सङ्गठन एकीकृतका वरिष्ठ उपाध्यक्ष ऋषिराम चापागाईं, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय अध्यक्ष घनश्याम पाठक, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी लगायतले शिक्षाको विविध पक्षमाथि प्रकाश पारे ।

दुई दिनसम्म सञ्चालन हुने परिषद्मा महासचिवको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महिला सचिवको महिला विभाग प्रतिवेदनमाथि छलफल हुने महासचिव चक्रपाणि पौडेलले जानकारी दिए । परिषद्मा देशभरका १०५ शिक्षकको सहभागिता छ ।