राजनीति

पार्टीमा कुनै संलग्नता सम्बन्ध छैन भन्दै विप्लवका नेताले गरे आत्मसमर्पण

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ नेतृत्वका बर्दियाका जिल्ला सदस्यले जिल्ला प्रशासन कार्यालयमा बर्दियामा आत्मसमर्पण गरेका छन् । नेकपा विप्लव पार्टीका पूर्वजिल्ला सदस्य ठाकुरबाबा नगरपालिका–७ का ४७ वर्षीय यज्ञप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय गुलरियामा आफैँ उपस्थित भएर पार्टीको कुनै पनि भूमिकामा नरहने उल्लेख गर्दै अब उप्रान्त पनि विप्लव पार्टीमा कुनै संलग्नता सम्बन्ध नभएको र आजैको मितिबाट सम्बन्ध विच्छेद गरेको सापकोटाले बताएका छन् ।

नेकपा विप्लव पार्टीका पूर्वजिल्ला सदस्य सापकोटाले आत्मसमर्पण गरेको जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । उनका अनुसार नेकपा विप्लवको पार्टीमा कुनै पनि भूमिमा नरहने भन्दै आत्मसमर्पण गरेकाले सुध्रिने मौका दिइएको प्रजिअ कुरुम्बाङ्ग बताए ।