समाचार

जनताका निराशालाई आशामा बदल्ने अवसर आएको बेला सिङ्गो पार्टी एकढिक्का भई अघि बढ्नुपर्छ: मन्त्री खड्का

सुर्खेत । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले एउटा चुनाव हार्दैमा निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुर्खेत काङ्गे्रसद्वारा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले जनतालाई आशाको दियो जगाउने जिम्मेवारी काङ्गे्रसकै काँधमा आएको बताए। उनले भने, “जनताका निराशालाई आशामा बदल्ने अवसर आएका बेला सिङ्गो पार्टी एकढिक्का भएर अघि बढ्नपर्छ ।”

“हाम्रा व्यवहार, कार्यशैली, निर्णय प्रक्रिया र अभिव्यक्तिले समस्या उत्पन्न गराएको सत्य हो”, उनले भने, “तिनै समस्याले कार्यकर्ता र मतदाताको मन कुँडिएको हो, अब आत्मआलोचना गर्दै अघि बढ्नुको विकल्प छैन ।”

पार्टीका आगामी रणनीति, योजना र कार्यसूचीलाई एकताबद्ध भएर केन्द्रदेखि वडा तहसम्म लैजानुपर्नेमा उनले जोड दिए । काङ्गे्रसको विधान मस्यौदा निर्माण समितिका संयोजकसमेत भएका खड्काले मतदाताको घरदैलो पुगेर पार्टीको विधान र रणनीतिबारे जानकारी गराउन निर्देशन दिए ।

काङ्ग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले पार्टीभित्रका अन्तरद्वन्द्व अन्त्य गर्दै बेथितिविरुद्ध एकजुट भएर लाग्ने अभियानको अगुवाइ गर्न महामन्त्री खड्कालाई आग्रह गरे । कार्यक्रममा काङ्गे्रस नेताहरु शिवराज जोशी, तप्तबहादुर विष्ट, जिल्ला सभापति कमलराज रेग्मी लगायतले पार्टीभित्रको अन्तरविरोध अन्त्य गर्दै एकताको सन्देश दिन नेतृत्वलाई आग्रह गरेका थिए ।