समाचार

नेता बसेको स्थानमा नभई, जनता बसेको स्थानमा मात्रै विकास पुर्‍याउँछौँ: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता बसेको स्थानसम्म विकासका हरेक काम हुने बताएका छन् ।

एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोग तथा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणको समन्वयमा मण्डन देउपुर नगरपालिका–२ बालुवापाटीस्थित बालुवा माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे दुईतले दुई भवनको सोमबार उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “जनता बसेको स्थानसम्म विकास पु¥याइन्छ, सरकारको सम्पूर्ण प्रयास जनताको समृद्धि र सुखमा मात्रै केन्द्रित छ ।” उनले नेता बसेको स्थानमा नभई, जनता बसेको स्थानमा मात्रै विकासको काम हुने दाबी गरे ।

मन्त्री बाँस्कोटाले सरकारले समृद्धिको यात्रामा हाललाई सबैलाई पायक पर्ने मूल सडक मात्रै बनाउँछ भने । “जनतालाई सुविधा दिन प्राथमिकताका आधारमा मूल सडक सरकारले बनाउँछ”, उनले थपे, “नेताहरुले आफ्नो घरसम्म पुग्ने सडक आफैँले बनाउनुपर्छ ।” उनले सरकारले हाल बजेटको सुनिश्चतताका आधारमा विकासको बाटो तय गरिरहेको बताए ।

मन्त्री बाँस्कोटाले एक वर्षभित्र सामुदायिक माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाइने बताए । उनले भने, “सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीले एक वर्षभित्र आफ्ना पाठ्यक्रम कम्प्युटरमार्फत पढ्न पाउने वातावरण तयार गर्छौं ।” उनले मुलुकका आठ हजार माध्यमिक विद्यालयमध्ये यस वर्ष चार हजार विद्यालय र बाँकी अर्को वर्ष सबै मावि प्रविधिमैत्री बनाइसक्ने बताए । उनले शिक्षा महँगो शुल्क तिरेर मात्र पाइने सोच बदल्नुपर्ने बताउँदै केही वर्षभित्र सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाइछाड्ने दाबी गरे ।

मन्त्री बाँस्कोटाले केही वर्षभित्रै निजी विद्यालयका सञ्चालकले सरकारसँग आफ्नो विद्यालय जिम्मा लिन आग्रह गर्ने बताए । उनले भने, “सामुदायिक विद्यालयको गुणस्तरले केही वर्षभित्रै निजी विद्यालयका सञ्चालक टाउकोमा हात राखेर आफ्नो विद्यालय सरकारलाई जिम्मा लगाउन आउँछन् ।” उनले अङ्गे्रजी बोल्दैमा गुणस्तरीय शिक्षा नहुने र क्रमैसँग सामुदायिक विद्यालयले अङ्गे्रजी माध्यमबाट शिक्षण गरिरहेको बताए ।

यसअघि मन्त्री बाँस्कोटाले एडिबीको ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणको समन्वयमा मण्डन देउपुर नगरपालिका–२ नगरकोटस्थित महाकाली माध्यमिक विद्यालयको १८ कोठे दुईतले भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकलाई घरघरमा गएर आफ्नो गुणस्तर वृद्धिको प्रक्रिया अभिभावकलाई अवगत गराउँदै सामुदायिक विद्यालयमा बालबालिकालाई भर्ना गराउन आग्रह गरे । “हामी सामुदायिक विद्यालयको गुणस्तर बढाउँदै लैजान्छौँ, अङ्गे्रजी बोल्नु मात्रै गुणस्तरीय शिक्षा भन्ने भ्रमबाट अभिभावकलाई मुक्त गराउनुस्”, उनले भने ।

कार्यक्रममा मण्डन देउपुर नगरप्रमुख टोकबहादुर तामाङले शिक्षकले आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ट हुनुपर्ने बताउँदै सरकारले तोकेको मापदण्डमा चल्नुपर्ने बताए । पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वन एकाइ (शिक्षा) प्रमुख इमनारायण श्रेष्ठले भूकम्पले क्षतिग्रस्त विद्यालयमध्ये चार हजार दुई सय विद्यालय निर्माण सम्पन्न भइसकेको र दुई हजार पाँच सय विद्यालय निर्माणाधीन चरणमा रहेको जानकारी दिए । सो अवसरमा विद्यालय निर्माणमा सहयोग पु¥याउने इञ्जिनीयरद्वय शोभित श्रेष्ठ र प्रज्ज्वल केसी तथा सहायक इञ्जिनीयरत्रय गणेश मैनाली, राजीव सापकोटा र पवन भट्टलाई सम्मान गरिएको थियो ।